प्लेन दोहा ल्याण्ड भयो । सेक्यूरिटि चेक सकेर वेटिङ रुममा गएर बसेँ । मोबाइल हेरेँ, बिहानको ५ः३० बजेको रहेछ । ल्यापटप खोलेँ । २ ओटा इमेल आएको रहेछ । रेस्पोन्स गरेँ । मोबाइलमा मेसेन्जरको रिङटोन बज्यो । दिदीको फोन थियो । उठाएँ । कति बजे आइपुग्छेस् भनेर सोध्नुभयो । ४ बजे काठमाण्डौ ल्याण्ड हुन्छु भनेँ । शुभ यात्रा भन्नुभयो । 'हस्' भनेर फोन काटेँ ।
मेरो अगाडीतिरको कुर्सीमा बस्ने एकजना मेरै उमेरकी महिलाले हाँसेर 'नेपाली पो हुनु हुँदो रहेछ' भन्नुभयो ।
"हजुर, हो ।"
"कताबाट आउनु भको ?"
"कोरियाबाट । अनि हजुर ?"
"म यूएसबाट । कोरिया नै बस्नुहुन्छ ?"
"हैन, एउटा कार्यक्रमको लागि गएकी थिएँ । हजुर नी ?"
"म चाहीँ ५ वर्षपछि जान लागेकी नेपाल ।"
"ए, कति समय बस्नुहुन्छ ?"
"अब फर्किन्नँ होला । नेपालमै केही गर्न मन छ ।"
"कति राम्रो सोच । बाहिर बसेर सिकेको सीप देशमा प्रयोग गर्न लाग्नु भएछ । खुसी लाग्यो । शुभकामना ।"
"हेहे..., धन्यवाद । हजुरको नाम ?"
"बिनिता । अनि हजुरको ?"
"खुसी"
"कति राम्रो नाम !"
उनी हाँसिन् मात्रै ।
म मोबाइल हेर्न थालेँ । मेसेन्जरमा साथीहरूको मेसेज आएको रहेछ । रिप्लाइ गरेँ ।
बोर्डिङको लागि सुचना बजीरहेको रहेछ । सबैजना गइसकेछन् । ब्याग बोकेँ । खुसी पनि गइसकिछन् । उनी बसेको ठाउँमा एउटा डायरी देखेँ । डायरीमा उनकै नाम थियो । प्लेनमा भेटेर दिउँला भनेर डायरी बोकेँ । मेरो सिट अगाडितिरकै थियो । उनलाई देखिनँ । अब नेपाल नै गएर दिउँला भन्ने सोचेर साथमै राखेँ । डायरी पढ्न मन लाग्यो । फेरि अरुको व्यक्तिगत डायरी पढ्नु हुन्न भन्ने सोचेर पल्टाउन लागेको डायरी पनि बन्द गरेँ ।
फेरि सोचेँ, 'ह्या पढ्दैमा के हुन्छ त ? मैले पढेँ भनेर नभनुला नि त ।'
“प्रिय सुरज,
कति कुरा भन्न मन थियो । गलाबाट शब्द नै निस्केन । न्यूयोर्कबाट छुट्ने बेला देखिएको तिम्रो अनुहारको भाव म पढ्न सक्थेँ । पढ्न सक्छु । तिम्ले बोल्ने शब्द, तिमीले राख्ने ख्याल र मेरा लागि तिमीले गर्ने हरेक कुराको अर्थ म बुझ्छु । बुझेकी छु । तिमीले मलाई सधैँ पत्थरको उपमा दिइरह्यौ । तर म किन पत्थर भएँ भन्ने कुरा जान्न चाहेनौ । जान्न नचाहेर ठिकै गर्यौ । नत्र त म पनि तिमीले मलाई गर्ने जस्तै प्रेम गर्न सक्थेँ । मैले तिमीलाई प्रेम गरिनँ । यो कुरा तिमीलाई थाहा छ । म तिमीलाई कति प्रेम गर्छु, यो कुरा मलाई मात्रै थाहा छ । यो कुरा मलाई मात्रै थाहा होस् । तिमीलाई कहिल्यै थाहा नहोस् ।
ममी बितेपछि बाबाले दुबैको माया दिएर हुर्काउनु भयो मलाई । बाबाको सहारा नै म थिएँ । म अमेरिका गएको बाबाको सपना पुरा गर्न नै हो । उहाँ मैले बाहिरको डिग्री लेओस् भन्ने चाहनु हुन्थ्यो । तिमी अमेरिकामा भेटिनू, चुपचाप मेरो ख्याल राख्न थाल्नु, मैले थाहै नपाउने गरि मेरो ब्यागमा सुन्दर अक्षरले भरिएका नोटहरू राखिदिनू, मेरो हरेक विशेष दिनलनई विशेष तरिकाले सेलिब्रेसन गर्नू, म जति नै कठोर भएपनि आफुले गर्ने मायामा कुनै सम्झौता नगर्नू, अनि मैले पटक पटक तिम्रो प्रेम प्रस्ताव अस्विकार गर्दा पनि प्रेम गर्न नछोड्नू, यो सब तिम्रो महानता थियो या भनौँ म प्रतिको समर्पण । मैले बुझेर पनि अबुझ बन्नु पर्यो । तिमीले पटक पटक म तिम्रो लायक छैन भनेर सोध्यौ, मैले छैनौ नै भनेर जवाफ फर्काएँ । वास्तविकतामा म तिम्रो लायक थिइनँ, छैन ।
मासिकस्राव हुँदा साह्रै गाह्रो हुन्थ्यो मलाई । धेरै दिनसम्म ब्लीडिङ हुन्थ्यो । सहनै नसक्ने गरी पेट दुख्थ्यो । ममी नभएकी टुहुरी छोरी, बाबालाई यस्तो कुरा भन्न पनि सक्दिन थिएँ । एकदिन आफैँ चेकअपको लागि गएँ । पाठेघरमा घाउ रहेछ । फोलिपियन ट्युब (डिम्बबाहिनी नली)मा पनि अवरोध रहेछ । उपचारपछि पाठेघरको घाउ त निको भयो तर फोलिपियन ट्युबमा भएको अवरोधका कारण म कहिले पनि आमा बन्न नसक्ने भएँ । यो कुरा थाहा पाए पश्चात आफु सधैँ अपुरो छु जस्तो लाग्न थाल्यो । मेरो बिम्बलाई मैले देख्न पाउँदिनँँ भन्ने चिन्ताले सताउन थाल्यो । कसैलाई प्रेम गर्ने आँट नै आएन म मा । हुन त प्रेम र विवाह फरक कुरा हुन् । तर प्रेम गरेको मान्छेसँगै जिन्दगी बिताउने रहर सबैलाई हुन्छ । म कसरी अछुत रहन्थेँ र ? आफु आमा बन्न सक्दिनँ भन्ने थाहा पाउँदा पाउँदै कसरी तिमीसँग जिन्दगी बिताउने सपना देख्न सक्थेँ म? तिमी त सबथोक सहिदिन्थ्यौ होला । बच्चा अडप्ट गरौँला भन्थ्यौ होला । तर समाजले बाँझी भनेको सुन्ने साहस नै रहेन । त्यसैले पत्थर बनेर आफैँभित्र लुकाएँ तिमी प्रतिको माया । बिना कारण झगडा गर्ने बहाना खोजिरहेँ । तिमी निर्दोश हुँदा पनि दोश थुपारी रहेँ । मलाई तिम्रो मनमा म प्रति घृणा जगाउनु थियो । बिर्सिन सहज हुने परिस्थिति बनाउनु थियो । त्यसैले पटक पटक दुखाइरहेँ तिमीलाई ।
अब नेपाल गएर बाल आश्रम खोल्ने सोच बनाएकी छु । अभिभावक बिहिनहरूको आमा भएर बिताउँछु बाँकी जीवन । तिमी मभन्दा पनि बुझकी र राम्री केटी खोजेर बिहे गर्नू । आफ्नो बिम्ब बनाउन नसके पनि तिम्रो बिम्ब हेर्ने रहर छ । यो जुनीमा तिम्रो हुन सकिनँ । मलाई माफ गर सुरज ।”
एयर होस्टेजले खाना ल्याइन् । नखाने भनेँ । पानी पीएँ । डायरी बन्द गरेर निदाउने कोसिस गरेँ । मनमा खुसी खेल्न थालिन् । नाम खुसी हुँदैमा भाग्यमा कहाँ खुसी लेखिँदो रहेछ र ? आमाको मायाको अभाव । अनि पछि कसैले दिएको मायालाई स्वीकार्न नसकेको बाध्यता । मान्छेले प्रेम पाउन पनि कति सर्तहरू पूरा गर्नु पर्ने रहेछ । तर उसले ठिकै गरी । प्रकृतिले पो उसलाई बच्चा जन्माउनबाट रोक्यो । उसको आमा बन्ने रहर पुरा गर्न त अब के ले रोक्छ र ? उसको सपना पुरा होस् । यस्तै चिताएँ मनमनै । सुरजको माया लागेर आयो । कति प्रेम गर्दो रहेछ खुसीलाई । कसरी सह्यो होला यो विछोड । अब के गर्ला उसले ? खुसीलाई खोज्दै नेपाल आउला ? की अर्कैलाई आफ्नो खुसी बनाउला ? यस्तै प्रश्नहरू खेलिरहे मनमा ।
प्लेन काठमाण्डौ ल्याण्ड भयो । पासपोर्ट कन्ट्रोल र सेक्यूरिटि चेक सकेर लगेज क्लेममा बसेँ । बेल्ट नम्बर २ मा आउने भएछ लगेज । यताउता हेरेर खुसीलाई खोजेँ ।
"तपाईंले दोहा एयरपोर्टमा छोड्नु भएको रहेछ डायरी, लिनुस् ।"
"ओहो! थ्याङ्क यु सो मच बिनिता जी, लेख्नको लागि झिकेकी थिएँ, छोडेर पो हिँडेछु हतारमा । होस् पनि के भाको होला ?"
"हैन, यस्तो हुन्छ कहिले काहीँ ।"
"हस्, मेरो लगेज आयो, म निस्किन्छु है ।"
"हुन्छ, राम्रोसँग जानुस् ।"
"हस्, हजुर पनि ।"
मीठो मुस्कान उपहार दिएर खुसी एयरपोर्ट बाहिर निस्किन् । मैले आाफ्नो स्मृतिबाट भने उसलाई कहिल्यै निकाल्न सकिनँ ।
जसरी खुशीले गरेको प्रेम सुरजलाई कहिल्यै थाहा भएन, त्यसरी नै मैले खुशीको डायरी पढेको कुरा पनि उसलाई कहिल्यै थाहा हुने छैन ।
-बिनिता कार्की
-बिनिता कार्की
CONVERSATION