प्रेमको असर भाग एक पढ्न यहाँ थिच्नुहोस्
ऊ सम्झिए जस्तो पनि गर्थी । तर चोट पाएकालाई ‘चिन्ता नगर’ भन्नु र स्वयम्ले चोट सहनुमा धेरै फरक हुन्छ । म सम्झाउनेमा थिएँ, ऊ सहनेमा थिई । आखिर जिन्दगी जसरी पनि गुज्रिने रहेछ । जतिसुकै ठूलो बज्रपात परेपनि सहनुको विकल्प नहुुँदो रहेछ । गुज्रिरहेको थियो समय आफ्नै रफ्तारमा, फरक यति हो कसैलाई त्यहि समय छिटो बितोस् जस्तो लाग्थ्यो त कसैलाई टक्क रोकियोस् जस्तो । अबिनालाई पनि त्यस्तो लाग्थ्यो सायद । अबिरलसँग हुँदा टक्क रोकियोस् जस्तो लाग्ने समय अहिले उसलाई साँच्चै नै रोकिएको जस्तो लागिरहेको हुन्थ्यो । दिन त जसोतसो बित्छ, रात बिताउनै मुस्किल पर्छ भन्थी ऊ । हर रात सिरानीमा टाउको बिसाएपछि म उसलाई सम्झिन्थेँ, कति रात अनिदो बिताउन पर्ने हो बिचरीले ?
कुनै समय उसको पहिचान नै बेग्लै थियो । जहाँ जाँदा पनि उसको ओठमा फुलेका गुलावले वातावरण नै सुगन्धित बनाउँथ्यो । ऊ स्वयम् यस्तो सङ्ग्रह थिई जसबाट शब्द सापटी लिएर कविले कविता लेख्छन् जस्तो लाग्थ्यो । उसको हौसला पाएरै हावा बहन्छ, उसको सोचको किस्सा चोरेरै कोहि दार्शनिक बन्छ र उसले बोकेर हिँड्ने मानवताको रङबाटै चित्रकारको क्यानभास रङ्गीने गर्छ की झैँ लाग्थ्यो उसलाई देख्दा ।
अहिले ऊ स्वयम् खाली पाना थिई, सास पनि फेर्छे र जस्तो लाग्न थालेको थियो । उसलाई देखेरै फूलहरू ओईलेका हुन्, न्याउली रुनुमा उसकै उदासिनता दोषी छ जस्तो लाग्थ्यो । खुईलिएका क्यानभास देख्दा म उसलाई सम्झिन थालेकी थिएँ । समय साँच्चै बद्लिएको थियो, अबिना बद्लिएकी थिई र बद्लिएको थियो मेरो उप्रतिको सोच ।
केहिदिन अघि अचानक बिहानै अबिनाको ममीले फोन गर्नुभयो । अबिनालाई सिभिल हस्पीटल ल्याएको छ भनेर खबर गर्नुभयो । म त्यहिँ पुगेँ । उसलाई आकस्मीक कक्षमा राखिएको रहेछ ।
‘धेरैदिनदेखि एकहोरो भएकी थीई । खाना नखाको त महिनौँ भईसक्यो । सँधै कराउन पर्छ खाने बेलामा । के भएको हो भनेर सोध्दा पनि केहि बोल्दिन । काममा पनि जान छोडी, तेस्रो सेमेस्टरको परीक्षा पनि दिइन । हिजो चाँडै कोठामा पसेकी थिई, यसकै पिरले म पनि निदाउन सकेकी थिईनँ । राति १ बजेतिर चिच्याएको जस्तो आवाज आयो उसको कोठाबाट । म र उहाँ भएर ढोका बल्लबल्ल खोल्यौँ, वीष पो खाकी रैछे, धन्न बेलैमा हस्पिटल ल्याउन सकियो । हामी निदाएको भए मर्थी होला । अवस्था नाजुक छ भन्दै हुनुहुन्छ डाक्टर सापले । किन यस्तो गरेकी नानी यसले ? कुनै दिन घर यसकै कारण उज्यालो हुन्थ्यो । अहिले ऊ आफैँ निभेको दियो जस्तो भएकी छे । किन रुवाकी यसले हाम्लाई ?’
यति भनिरहँदा आन्टिको गला कतिपटक अवरुद्ध भए, उहाँ कति ठाउँमा आँसु बनेर पग्लिनु भयो, कति पटक मलाई अङ्गालो हालेर भक्कानिनु भयो, मैले जानेको गणितीय सुत्रले एकीन राख्न सकेन । सायद यी संवेगहरूलाई गणितले परिभाषित गर्न पनि नसक्दो हो ।
अबिनाको होस् आईसकेको थिएन । आन्टीलाई ‘घर जानुस्, म र अङ्कल बस्छौँ’ भनेको मान्नु नै भएन । १० बजीसकेको थियो । घरको चाबी मागेँ र खाना बनाएर ल्याउँछु भनेर म अबिनाको घरतिर लागेँ ।
सरासर उसकै कोठामा पसेँ । सुसाइड नोट लेखेकी छे की भनेर खोजेँ तर भेटिनँ । उसको दराज खोलेँ । त्यहाँ पनि केहि भेटिनँ । दराजको सबैभन्दा माथिल्लो र्याकमा आँखा पुग्यो मेरो, तान्न खोजको बन्द रहेछ । चाबी टेबलमा रहेछ, र्याक खोलेँ । सो र्याकमा एउटा डायरी भेटेँ जुन मैले नै उसको जन्मदिनमा उपहार दिएकी थिएँ ।
आदरणीय ममी बुबा,
मलाई माफ गरिदिनु होला । तपाईँहरूले म प्रति राख्नु भएको भरोषा जोगाउन सकिनँ । हरेक दिन मेरोे मलिन अनुहार देखेर हजुरहरूले सोध्ने प्रश्नको जवाफ दिने साहस नै आएन । म कसरी भनूँ की हजुरकी छोरी कसैको प्रेममा थीई र उसले मलाई बिर्सन खोज्दैछ भनेर ? म कसरी भन्न सक्छु की हजुरहरूलाई आफ्नो उर्जा ठान्ने छोरीको अर्को पनि उर्जा थियो, जो हजुरहरू भन्दा सशक्त थियो ? म कसरी बताऊँ की त्यहि उर्जा मेरो सबैभन्दा ठूलो कमजोरी भएको छ भनेर ?
अबिरलले मलाई बिर्सिनु भनेको दिनबाट उसलाई झन् धेरै सम्झिन थालेकी छु । यो सहरको कुनै त्यस्तो गल्लि छैन जहाँ उसको याद नआओस् । बानेश्वरदेखि गौशालासम्म, चोभारदेखि भोटेचौरसम्म, सिटि सेन्टरदेखि रत्नपार्कसम्म र गोदावरीदेखि धुलिखेलसम्म सबैतिर छरिएका छन् उसका सम्झनाहरू । दिनको सयौँ पटक उसको प्रोफाइल नियालेर, रातभरी उसका तस्विर हेर्दै मोबाइलको स्कृन भिजाएर र पटकपटक हाम्रो च्याट हिस्ट्री पढेर म कतिदिन गुजारौँ ? मलाई थाहा छ म गलत गर्दैछु, मलाई यो पनि थाहा छ की मेरो कारण हजुरहरू चिन्तित हुनुहुन्छ । तर प्रेम त प्रेम हुँदो रहेछ, सबथोक बुझेर पनि अबुझ बनाइदिँदो रहेछ ।
मलाई थाहा छ, मेरो मृत्यूपछि मलाई कायर, कमजोर, हरुवा मात्र होईन, चरित्रहिनको नाम पनि दिईने छ । कतिले मेरो कसैसँग शारिरीक सम्बन्ध थियो वा गर्भमा बच्चा भएर आत्महत्या गरेकी पनि भन्न सक्नेछन् । यो सबै कुराले हजुरहरूमा के बित्नेछ पनि बुझेकी छु मैले । तर यो सब बुझेर पनि मलाई जीउने रहर छैन । सबथोक जानेर पनि म नतमस्तक भएकी छु । मलाई ऊ बिना जीउनु पर्छ भन्दापनि कोहि अरुसँग जीउनुपर्छ भन्ने डर छ ।
एक्लै जिन्दगी बिताउन हजुरहरूले अनुमति दिनुहुन्न, ऊ बाहेक कोहिसँग जीउन मेरो मन मान्दैन । कसैसँग प्रेमको नाटक गरेर उसलाई त भ्रममा राख्न सकिएला, तर म आफैँले आफैँलाई कहिलेसम्म भ्रममा राखूँ ? आफु जलेर कहिलेसम्म कसैको जीवन उज्यालो बनाउने प्रयत्न गरूँ ? मनले नै अस्विकार गरेको कुरा मैले कसरी स्वीकार्ने ? यस्तो दोधारे जिन्दगी भन्दा त मृत्यू नै प्रिय लाग्यो र यो प्रयास गर्दैछु ।
मेरो आत्महत्या हजुरहरू जस्तो भगवानमाथि गरिएको घात नै हो । ममी, हजुरको गर्भमा ९ महिना बसेर, हजुरलाई प्रसव पीडा दिएर, कतै चोट लागी पो हाल्ला की भन्ने पीर मान्दै हुर्काएकी छोरीले आत्महत्या गर्दा हजुरहरूमा के बित्छ म अनुमान मात्र लगाउन सक्छु । यो सब बुझ्दा बुझ्दै पनि म यो कठोर कदम चाल्न बाध्य छु । म माफीको त लायक छैन, कृपया मेरो मृत्यूमा रोएर मलाई अझै लज्जित नबनाउनु होला ।
सकेछु भने यो जूनीमा दिएको पीडाको मूल्य अर्को जूनीमा तिर्नेछु ।
अबिना ।
थचक्क उसको बेडमा बसेँ । रिस र दया एकैपटक जाग्यो । अबिना बनेर सोच्दा दया लाग्यो, अङ्कल आन्टी बनेर सोच्दा रिस उठ्यो । कति सजिलै लत्याउन सक्छन् सन्तानहरू आमा बुबाको त्याग र तपस्यालाई ? केहिदिन अघि भेटेको प्रेमको लागि आफुलाई आकार, संस्कार र सिङ्गो जिन्दगी दिने अभिभावकको मायालाई कसरी कमजोर बनाउन सक्छन् यिनीहरू ? के मृत्यू नै समाधान हो ? साँच्चै रिस उठेर आयो अबिनासँग । चोट परेको थियो भन्ने त थाहा थियो मलाई, तर यति भयानक कदम उठाउली भनेर सोचेकी थिईनँ । फेरी अबिरलले उसलाई आफ्नो बनाउने प्रयास गर्छु भनेको छ भनेकी थिई । न नतिजा उनीहरूकै पक्षमा पो आउँथ्यो की ? केही समय पनि किन कुर्न नसकेकी होला यसले ?
सोच्दा सोच्दै झल्यास्स भएँ । ओहो ! खाना लिएर हस्पिटल पो जानु छ । उठेर भान्छामा जान लाग्दा मैले बोकीरहेको डायरीबाट एउटा कार्ड झर्यो । कार्ड रातो रङको थियो ।
मेरो आँखाले कार्डमा लेखिएका तीन शब्द प्रस्टै पढे, ‘अबिरल वेड्स् सुविना’ ।
क्रमश:
CONVERSATION