HOME ARTICLES BLOG INTERVIEWS & REVIEWS STORY POEM GHAZAL MUKTAK MISCELLANEOUS LITERATURE
image1 image2 image3

छोरी भएर जन्मेकै कारण बुवाले छोडेर गएपछि

    

बिनिता कार्की   - 

जिन्दगी एक भोगाई रहेछ । जस्तो अवस्थाबाट गुज्रियो मान्छे त्यस्तै बन्दो रहेछ । मैले पनि जिन्दगीलाई भोगेँ सायद । जिन्दगीको भोगाइले मलाई सानैबाट धेरै कुरा सिकायो । अभाव भोक र दुःखसँग संघर्ष गर्न सिकायो मेरो जिन्दगीले । 
अभाव, भोक र दुःखसँग आफ्नो बालापन काट्नु मेरो बाध्यता थियो । सायद त्यही बाध्यताले बलियो बनायो । त्यही अन्धकार भूमरीले जस्तोसुकै परिस्थितिमा बाँच्न सिकायो । त्यही बेदनाले परिपक्व बनायो । बाल्यकालको त्यही दुःखले म अहिले जुन ठाउँमा छु त्यो ठाउँमा पुर्‍यायो । 
नेपाली समाज, छोरामा अडिएको बुबाआमाको आश अनि सास । म पनि छोराको आशमा जन्मिएकी परिवारकी कान्छी छोरी । म अघि मेरी आमातर्फ दुई दिदी र बुबाको दोश्री श्रीमतीबाट पनि दुई छोरी जन्मिसकेका थिए । म यी चार पछिका कान्छी छोरीको रुपमा जन्मिएँ । बुबा आमा लगायत आफन्तले समेत छोराको अपेक्षा गरेका रहेछन् । म पाचौँ छोरीको रुपमा जन्मेपछि बुबा दुःखी हुनुभयो रे । म छोरी भएकै कारण हाम्रो परिवारलाई बाराको पुख्र्यौली घरमा छोडेर आफू कान्छी श्रीमतीको साथ हेटौँडा बस्न थाल्नुभयो । मेरी आमा अशिक्षित हुनुहुन्थ्यो र पनि हामीलाई पढाउन पछि पर्नुभएन । म कक्षा १ मा भर्ना भएको वर्ष मेरी जेठी दिदीले एसएलसी दिनुभएको थियो । मलाई कखरा सिकाउने मेरी दिदीकै कारणले म अध्ययनमा अब्बल हुँदै गएँ । एसएलसीमा उतीर्ण संख्या नै कम हुने विद्यालयबाट म प्रथम श्रेणीमा पास हुन पुगेँ । 
एसएलसी पास गरेपछि बुबालाई फोन गरेर सुनाएँ । उहाँ खुसी हुनुभयो । अब उच्च शिक्षाका लागि बुबाकोमा बस्ने पक्का भयो । मेरो अबको पढाई हेटौंडामा हुने भयो बुबाको साथमा बसेर । ११ कक्षाको नतिजा उत्कृष्ट आएकोले क्याम्पसले मलाई पूर्ण छात्रवृत्ति दियो । मैले पूर्ण छात्रवृत्ति पाएँ । म हेटौंडमा बुबाको साथमा बसेको सानी आमालाई पटक्कै मन परेको थिएन । त्यसैले उहाँहरु माथि बोझ नबन्ने सोंचले म छुट्टै बस्ने निर्णय गरेँ । 
१२ पास गरेपछि भने म गाउँ गएँ आमाको साथमा । मलाई पढ्ने रहर मरेकै थिएन । तर स्नातक पढ्न सक्ने अवस्था पनि थिएन । हेटौँडाका साथीहरुले कुनै काम खोज्न र पढ्न सल्लाह दिए । 
म पाँचसय रुपैयाँ बोकेर हेटौँडा गएँ । काम नपाए सम्म गाउँकै एक जना दाइकोमा बसेँ । कामको खोजीमा भौतारिनु दैनिकी बन्यो । करिब १ महिनाको प्रयासपछि मैले हेटौँडाको एउटा मिडिया कम्पनीमा बजार प्रतिनिधीको रुपमा काम गर्न थालेँ र स्नातक भर्ना पनि भएँ । कोठा खोजेर एक्लै बस्न थालेँ ।
मेरी दुई वटा दिदीको बिहे भईसकेको थियो । गाउँमा आमा मात्र बस्नुहुन्थ्यो । मैले आफ्नो पढाई खर्च आफैले जुटाउनु पथ्र्यो । काम र अध्ययन दुवैलाई उत्तिकै प्राथमिकतामा राखेँ । स्नातक पनि नियमित रुपमै पास गरेँ । साहित्यमा रुची थियो, त्यसैले स्नातक पढ्दै गर्दा आफ्नो गजल संग्रह निकाल्न पनि सफल भएँ । २० स्रष्टाका २०/२० गजल रहेको गजल संग्रह ‘कैफियत’मा मेरो गजल पनि समावेस भयो । यसरी साहित्यिक यात्राले पनि केही गति लिएको थियो ।  
स्नातक दोस्रो वर्षमा हुँदा एनटिभी प्लसमा एउटा वादविवाद कार्यक्रम आएको देखेँ । प्रतियोगितामा २०१३ को लागि आवेदन खुलेको थाहा पाएँ र सहभागी पनि भएँ । छनौट चरणदेखि प्रतिस्पर्धा, क्वाटर फाईनल, सेमिफाईनल हुँदै अन्तमा  प्रतियोगिताको स्नातक तहको विजेताको उपाधी नै जितेँ। 
यो जित मेरो जिन्दगीकै ठूलो सफलता बन्न पुग्यो । 
स्नातक तहको पढाइ सकिसकेको थियो । अबको पढाई भने काठमाडौंबाट नै पूरा गर्ने रहर थियो । काठमाडौंमा काम गर्दै कुनै राम्रो विषयमा स्नात्तकोत्तर गर्ने मेरो सपनालाई सन्तोष साहले पूरा गरिदिनुभयो । सन्तोष साह जसले एनटिभि प्लसमा वादविवाद प्रतियोगिता गराउनु भएको थियो र टुडेज युथएशियाका संस्थापक हुनुहुन्थ्यो । उहाँले मलाई आफ्नो संस्थामा काम गर्न बोलाउनु भयो । टेलिभिजन कार्यक्रम सम्बन्धि केही ज्ञान नभएको मैले बिस्तारै त्यहाँ धेरै कुरा सिक्न पाएँ । नेपाल्स् टप सेभेन डिवेटर्स कार्यक्रमको २०१३ को विजेता म, सोही कार्यक्रममा २०१५ को निर्देशक भएर २ वर्ष काम गरेँ । त्यो अवसरका लागि म सन्तोष साह सर प्रति सँधै कृतज्ञ छु । हाल म एक अन्तर्राष्ट्रिय संस्थामा कार्यरत छु । क्राईसिस म्यानेजमेन्ट विषयमा स्नात्तकोत्तर गर्दैछु । म वि डु नामक एक अन्तर्राष्ट्रिय संस्थाको राईजिङ स्टार पनि हो । सो संस्थाले राईजिङ स्टारको रुपमा छनोट भएका युवतीहरुलाई उज्ज्वल भविष्यको लागि मार्ग देखाउँछ र सहयोग पनि गर्छ । मैले युनडिपी एशियाले आयोजना गरेको चेन्ज मेकर्स वर्कशपमा बैङ्कक जाने अवसर पनि पाएँ । दिगो विकास प्राप्तिका लागि युवाहरुको भूमिका अपरिहार्य हुन्छ भन्ने ज्ञान सिकेर आएँ र त्यसका लागि युवा परिचालनमा लाग्ने अठोट लिएकी छु । 
अहिले मेरी आमालाई म छोरा नभएकोमा कुनै गुनासो छैन । बुबा पनि खुसी हुनुहुन्छ । उहाँ र मेरा आफन्तहरु मेरो सफलतामा गर्व गर्नुहुन्छ । गाउँमै एउटा नमुना छोरी भएकी छु । 
अबको मेरो लक्ष्य भनेको समाजमा रहेका मेरी आमा जस्तै असहाय र अशिक्षित महिलालाई सिपमुलक शिक्षा दिएर आत्मनिर्भर बनाउनु हो । विभिन्न संघसंस्था महिला सशक्तिकरणका नारा मात्र लगाउँछन् । महिला सशक्तिकरणको नारा हैन काम र परिश्रमले ल्याउनु पर्छ भन्ने मेरो मान्यता छ । 
हामी साथीहरु मिलेर एउटा सामाजिक संस्था पनि दर्ता गरेका छौँ । केही वर्ष अनुभव बटुलेर यो संस्था मार्फत दुर्गम गाउँका युवा र महिलालाई आत्मनिर्भरता तर्फ अग्रसर गराउने अठोटका साथ आफ्नो पढाइलाई निरन्तर दिईरहेको छु । अहिले अध्ययन र कामलाई नै प्राथमिकतामा राखेकी छु । कतिपय अवस्थामा हामीलाई भाषाले पनि अफ्ठ्यारो पार्ने गरेको छ । अन्तर्राष्ट्रिय भाषाको रुपमा अंग्रेजी भाषा भएकोले अंग्रजी भाषा जानेकाले राम्रो काम पाईंदोरहेछ भन्ने मेरो बुझाई छ । म त एउटा सामान्य परिवारको सामान्य सरकारी विद्यालय पढेको मान्छे, अंग्रेजी भाषा कै कारण आज म यो अवस्थामा आई पुगेकी छु । 
व्यक्तिगत विकासको लागि स्वतन्त्रता पनि अपरिहार्य छ । मेरो उमेरका साथीहरु धेरैजसो विवाहित छन् । कोही दवावले त कोही रहरले । महिलाका लागि अवसरहरु खोलेर मात्र हुँदैन । त्यो अवसरका लागि सक्षम हुने वातावरण घर परिवारबाट सिर्जित हुनुपर्छ । निजी र सरकारी विद्यालय बीचको असमान खाडल पुरिनु पर्छ । घोकन्ते शिक्षाभन्दा माटो सुहाउँदो व्यवहारिक शिक्षा नीति लागु हुनुपर्छ । यदि योजनावद्ध ढंगले अघि बढ्ने हो भने देशमै रोजगारीका प्रशस्त अवसर खुल्छन् । अनि कुनै पनि युवाको गन्तव्य विदेश बन्दैन । स्वदेशमै समृद्धि फुलाउन सकिन्छ । 
http://ujyaaloonline.com/news/64229/binita-blog/
सिहोर्वा ५ बारा, हालः काठमाडौं    

बिनिता कार्की:

राम्रोलाई राम्रो व्यबहार र नराम्रोलाई पनि राम्रै व्यबहार गर्ने मान्छे


Let's Get Connected: Twitter | Facebook | Google Plus

CONVERSATION