वास्तवमै मलाई आफ्नो जन्मदिन खास लाग्दैन । सायद सानैदेखि जन्मदिन मनाउने चलन नभएर होला । गाउँघरमा जन्मदिन मनाउने चलन भर्खर भित्रिदै छ । म सानो छँदा त्यस्तो चलन नै थिएन । विगत केहीवर्ष यता भने जन्मदिन खास बन्ने गरेको छ । साथीहरूबाट पाइने अनपेक्षित शुभकामनाका सन्देश र उपहारले जन्मदिन साँच्चै नै विशेष बन्ने गर्छ ।
यो वर्षको जन्मदिन अहिलेसम्मकै विशेष रह्यो भन्न पाउनु मेरो लागि अति नै हर्षित कुरा हो । जन्मदिन जन्मदिनकै दिन मनाइन्छ, तर मेरो जन्मदिन त अघिल्लो दिनबाटै मनाउन सुरु भइसकेको थियो । माघ १९ गते शुक्रबार हामी कार्यलयको मासिक बैठकमा थियौँ । बैठक सकिनै लाग्दा एक सहकर्मीले केक लिएर बैठक कक्षमा ल्याउनु भयो । म त अक्क न बक्क भएँ । भोलिपल्ट शनिबार भएकोले अघिल्लो दिन नै मेरो जन्मदिन मनाउने योजना भएको रहेछ । मैले त्यहि समय मात्र थाहा पाएँ । यो अनपेक्षित खुसीको सिमा म शब्दमा वर्णन गर्न सक्दिनँ । केक जस्तै मिठो लाग्यो मलाई त्यो पल, अनि केकमाथि बलिरहेको मैन झैँ लागिरह्यो आफ्नो जिन्दगी, उज्यालो अनि निर्मल ।
त्यो साझँ हामी पोखरा जाने योजना बनिसकेको थियो । हामी अर्थात अफिसका सहकर्मी साथी । माघ १८ गतेसम्म म कार्यरत संस्थाद्वारा ६ दिनको तालिम चलिरहेको थियो । तालिम अबधिभर हामी धेरै नै खटियौँ । तालिमलाई उपलब्धिमुलक र विशेष बनाउन हामी समर्पित थियौँ । त्यसैले पनि रमाइलो गर्ने एउटा माहोल चाहिएको थियो । आफैँलाई रिचार्ज गर्न । साँझ ६ बजे कलंकीबाट बागलुङ जाने बस चढ्यौँ । हामी चारजनाको टोली, माहोल साँच्चै नै गजब थियो । हामी स्वतन्त्र उडिरहेका चरा झैँ भएका थियौँ । बसमा हाम्रो हाँसो यसरी फैलियो की अरु कसैको आवाज सुनिएन । अझ भनौँ सबैले हामीलाई नै सुनिरहे ।
राति ११ः४५ बजे हामी पोखराको बसपार्कमा ओर्लियौँ । हामी यात्रामा हुँदा बागलुङ नै जान पर्छ की के हो भनेर हाँसो गरेका थियौँ । बस बाग्लुङतर्फ हानियो । बसमै रहेका यात्रुले हामीलाई बागलुङ नै जाने हैन र भनेर जिस्काउनु भयो । हामीले हाँसोमै बिदाइ ग¥यौँ । मान्छे कति छिट्टै घुलमिल हुन्छ । उनीहरू छुट्टिदा कोही आफन्तसँग छुटिए झैँ आभाष भयो । हामी पृथ्वी चोकबाट लेकसाइड तर्फ लाग्यौँ । हाम्रा आँखाहरू ट्याक्सी खोज्दै थिए । मध्यरात भएर होला खाली ट््याक्सी भेटिएन । हिँड्दै गर्दा एकजना व्यक्तिले होटल खोज्नु भएको हो भनेर सोध्नुभयो । हामी वेवास्ता गरेर अगाडि बढ्यौँ । मध्यरातमा पोखराको त्यो सडकमा चारथान शरिर प्रफुल्ल थियो । स्वतन्त्र र बेहद् खुसी । ठिक १२ बजे, पृथ्वी चोकमा तीनै जनाले ठूलो स्वरमा ह्यापी बर्थडे भनेर मेरो जन्मदिन मनाए । म साँच्चै विशेष पात्र भएकी थिएँ त्यो माहोलमा । मन हर्षित थियो, मौसम चिसो र शान्त । हामीले चकलेटको प्याकेट फोड्यौँ र चारैजनाले बाइट लियौँ । मेरो फोन बज्न थाल्यो । पहिलो कल सुनिताको थियो, मेरो बालसखा । उनी जन्मदिनको दिन म उनीसँगै बसोस् भन्ने चाहन्थिन्, तर मेरो योजना बनीसकेकोले उनको चाहना पुरा गर्न सकिनँ । जन्मदिनको शुभकामना दिएर रमाइलो गर्नु भन्दै फोन राखिन् । त्यसपछि सुस्मिताको फोन आयो । सम्भवत मलाई धेरै हेप्ने र त्यति नै माया गर्ने साथी हो ऊ । फोनमै गालि गर्दै बर्थडे विस गरी । मलाई यसको मित्रता निभाउने यो तरिका खुब मन पर्छ । त्यसपछि गिताको मेसेज आयो । हामी बालापनदेखिको साथी । बच्चैदेखि मेरो कुनैपनि जन्मदिन नभुली शुभकामना दिने उनी मात्रै हुन् । उनको त्यो मेसेज् अपेक्षित थियो ।
साथीहरू दिक्क भइसकेका थिए मेरो फोन बजेको सुनेर । मैले हाँसेर उनीहरूलाई फकाउने कोसिस गर्दै थिएँ । केहीबेर हिँडेपछि ट्याक्सी भेटियो । हामी चढ्यौँ, तर ट्याक्सी चलेन । हाम्रो वजन थेक्न सकेन भनेर हाँसो गर्दै हामी ट्काक्सीबाट निस्कियौँ । हिँड्दै लेकसाइडतर्फ लम्कियौँ । केही समय बसपार्कमा भेटिएका व्यक्ति फेरी आउनु भयो । हामीलाई होटल हेर्र्नुस्, मन नपरे नबस्दा पनि त हुन्छ नी भनेर सम्झाउनु भयो । हामी दुईदुई जनागरी उहाँकै बाइमा गयौँ । होटल मध्यम किसिमको थियो । हामी त्यहीँ बस्ने पक्का भयो । होटल पुग्दा बिहानको १ बजेको थियो । त्यसै बेला पुनमको फोन आयो । उनीले मेरो जन्मदिन वीस गर्न थालेको ४ वर्ष भयो । सँधै राती १२ बजे नै आउँथ्यो फोन । यो वर्ष निदाइछिन्, त्यसैले १ बज्यो । मैले आफु पोखरा रहेको कुरा सुनाएँ । रमाइलो गर्नु भनिन् । हामी कोठामा थियौँ । पोखरा काठमाण्डौ जस्तो चिसिएको थिएन । हाम्रो गफ तातिदैँ थियो । गफ गर्दागर्दै हामी निदाएछौँ । टिभि खुल्लै रहेछ । म ४ बजे बिउँझिएर बन्द गरेँ ।
जन्मदिनको दिन बिहान ६ बजेबाट फेरी फोन बज्न थाल्यो । शुभकामना सन्देशहरू आइनै रहेका थिए । म भने मस्त निन्द्रामा । कति फोन आएको त थाहै भएन । आमालाई आफैँले फोन गरेँ । उहाँलाई मेरो जन्मदिन कहिल्यै याद हुँदैन । सायद हरेक दिन मलाई सम्झेर मिति बिर्सिनु
हुन्छ होला । आमासँग कुरा गरेपछि मात्र हरेक दिन सार्थक हुन्छ । उहाँसँग नबोली जन्मदिन कसरी सार्थक हुन्थ्यो?
बिहान ९ बजे सबैजना उठ्यौँ र फ्रेस भयौँ । फेसबुकमा मेरो जन्मदिन हाइड गरिएको छ । कसैले थाहा पाउँदैनन् । मेरो टाइमलाईनमा कसैले पोस्ट गर्न पनि मिल्दैन । मैले आफ्नो जन्मदिन लुकाउनुको दुई कारण छन् । एक त जन्मदिन पब्लिक गर्दा धेरै शुभकामना आउँछन्, जुन धेरै राम्रो कुरा हो । तर सबैलाई धन्यवाद दिन नभ्याइएला जस्तो लाग्छ । अर्को कुरा, फेसबुकको नोटिफिकेसनले नसम्झाइ मेरो जन्मदिन सम्झिनेहरू को को रहेछन् भन्ने थाहा हुन्छ ।
बिहान फेसबुक चेक गर्दा म छक्क परेँ । धेरै जनाले फोटो अपलोड गरेर जन्मदिनको शुभकामना दिनुभएको रहेछ । शुभकामना सन्देशमा लेखिएको शब्दहरू पढेर म भावुक भएँ । मनमनै कृतज्ञ भएँ सबैप्रति र आभार पनि व्यक्त गरेँ ।
पोखरमा मेरा दुई साथी छन्, रिता र आरती । दुबैको फोन आयो बिहान । दुबैलाई म पोखरा रहेको कुरा जानकारी गराएँ । तर अपसोच, दुबैले पत्याएनन् । म जिस्कीरहने मान्छे, यो पटक पनि जिस्किएकै भन्ठाने सायद । म उनीहरूलाई भेट्न भ्याउँथिइनँ । म एक्ले भेट्न जान मिल्दैन थियो, मसँगै गएका साथीहरूको अरु प्राथमिकता थिए । हामीले कसैको आफन्त र साथीलाई नभेट्ने नै भनेका थियौँ । त्यसैले उनीहरूले नपत्याएको पनि ठिकै लाग्यो ।
प्याराग्लाइडिङ हाम्रो पहिलो प्राथमिकता थियो । होटलकै दाइले हाम्रो आफ्नै कम्पनी छ, त्यसैबाट गर्नु भन्नुभयो र गाडी बोलाइदिनु भयो । हामीले ब्रेकफास्ट गर्यौँ र प्याराग्लाइडिङका लागि लाग्यौँ ।
जन्मदिनको दिन एउटा रहर पुरा हुँदैथियो । म मात्र हैन साथीहरू सबै खुसी थिए । माघ २० गते, दिउँसोको ठिक २ः३० बजे हामी पोखराको आकाशमा थियौँ । उडीरहेका थियौँ हामी र उडिरहेको थियो मन स्वतन्त्र र प्रफुल्ल भएर । मैले पाइलटलाई त्यो दिन मेरो जन्मदिन हो भनेर जानकारी गराएँ । उसले पनि जन्मदिनको शुभकामना दियो । मन झनै हर्षित भयो । फोटो र भिडियो धेरै नै खिचियो ।
साँझ हामी पोखराकै प्रसिद्ध रेस्टुरामा पस्यौँ । लाइभ म्युजिक हुने सुरसार थियो । गायकले फेब्रुअरी महिनालाई लक्षित गर्दै रोमान्टिक गित गाइरहेका थिए । गित गाउँदा गाउँदै बीचमा ह्यापी बर्थडे बिनिता एण्ड दिस सङ इज डेडिकेटेड टु यू भन्ने आवाज आयो । त्यो वाक्य झनै विशेष लाग्यो । सुनिरहुँ जस्तो । त्यसपछि उहाँले मायाले बोलेको बोली मिठो भो.... बोलको गित गाउनु भयो । साथीहरू सबै मिलेर नाच्न थाल्यौँ । माहोल रमाइलो बन्दै थियो । हामी राती १२ बजेसम्म नाच्यौँ । रमाइलो ग¥यौँ । हास्यौँ र बाच्यौँ एउटा पुर्ण जिन्दगी ।
२१ गते बिहान बन्दिपुरतिर हानियौँ । बन्दिपुरको सुन्दरताले मन लोभ्यायो । २ दिनको यात्रामा सिङ्गो जिन्दगी बाँचियो झैँ लाग्यो । साँझ काठमाडौँ फर्किने गाडी खोज्यौँ डुम्रेमा । गाडी खाली फर्किँदै रहेछ । रिजर्भमा आएझैँ भयो । अपेक्षित समयभन्दा चाँडै काठमाडौँ ओर्लियौँ । त्यस रात सहकर्मी साथीकैमा बसियो ।
यो जन्मदिन यति विशेष बनाउन साथ दिनुहुने सबैप्रति यो ज्यान आभारी छ । म हरेक दिन खुसी हुन्छु र खुसी बाँड्छु । जिन्दगीको हरेक दिनले एउटा जिन्दगी बाँचोस् भन्ने चाहना त कस्को हुँदैन र ?
डियर जिन्दगी, आफु जन्मेकै दिनमा आफ्नो एउटा रहर पुरा गर्न सकेकोमा तलाईँ बधाई । तेरो कुनै रहर अपुरो अधुरो नहोस् । तेरो हरेक जायज मागहरू पुरा गर्न सकूँ । तलाईँ बाँकी जीवनको लागि शुभकामना ।
२२ माघ २०७४
CONVERSATION