विजय सरको घरमा चार जना बस्थे । उहाँ, उनकी श्रीमती र २ छोरीहरू, कमला र बबिना । बबिनालाई उनले जन्म र कर्म दुबै दिएका थिएऽ कमलालाई भने कर्म मात्रै । अफिसको कामले पहाडी जिल्ला जाँदा भेटेका थिए कमलालाई उनले । उनको पढ्ने इच्छाशक्तिबाट प्रभावित भएर पढाइदिन्छु भनेर शहर ल्याएका थिए । उनले कमला र बबिनामा फरक व्यवहार गरेनन् । दुबै एउटै स्कूलमा पढ्थे । कमला अब्बल थिइन्, बबिनाको पढाइ औसत थियो । कमला घरको काम पनि सघाउँथिन् र बाँकी समय पढ्थिन् । बबिनालाई भने पढ भनेर सम्झाइ रहनु पर्थ्याे । कमला आफैँमा लगनशिल थिइन् ।
दुबैले एसएलसी (हालको एसइइ)को परीक्षा दिए । कमलाले डिस्टिन्सन् ल्याइन्, बबिनाले पहिलो श्रेणीमै चित्त बुझाउनु पर्यो । बबिनाको नतिजाले विजय सर दुखी हुनुभयो । बबिना पनि खुसी पक्कै थिइनन् । विजयले दुबै छोरीलाई आफु अगाडी राखेर बबिनालाई सम्झाउन थाल्नुभयो ।
'घरको सबै काम सघाएर बाँकी समय पढाइलाई दिने कमला भन्दा सबै समय पढाइलाई दिन पाउने तिम्रो नतिजा किन कम आयो ?' उनले बबिनालाई सोधे ।
बबिना निरुत्तर थिईन् ।
'कसरी कम नम्बर अायाे बबिनाकाे ?' प्रश्न कमलातिर तेर्सियाे ।
कमलाले सानो स्वरमा जवाफ दिइन्, 'अंकल, बबिना सँधै हजुरको करले हजुरका लागी पढ्थी, म मेरो रहरले मेरै लागि पढ्थेँ ।'
CONVERSATION