HOME ARTICLES BLOG INTERVIEWS & REVIEWS STORY POEM GHAZAL MUKTAK MISCELLANEOUS LITERATURE
image1 image2 image3

प्रस्ताव





मैले यो लेख मलाई कति जनाले प्रेम प्रस्ताव राखे या मलाई मन पराउनेहरू कति छन् भनेर सुनाउन लेखेको हैन ।

जीवनको यो अवस्थासम्म आइपुग्दा अनेकथरीका मान्छेसँग साक्षात्कार भयो । जति धेरै मान्छे, उती धेरै मानसिकता । हुन त, आभारी छु म उनीहरू सबैप्रति, जसको कारण मलाई आत्मनिर्भर बन्न सँधै हौसला मिलिरहेको छ ।

स्कूल पढ्दा प्रेमप्रति म पुर्णरुपमा नकारात्मक थिएँ । त्यो प्रेम र विवाहलाई केन्द्रमा राख्ने समय होइन जस्तो लाग्थ्यो । कोही साथी प्रेममा परेको भन्ने थाहा पाएँ भने गाली गर्थेँ । त्यसैले पनि मलाई प्रेमका कुरा कसैले पनि सुनाउँदैन थिए । भर्खरै उम्रिन लागेको प्रेमको मुना भाँचियोस् भन्ने चाहना कस्को हुन्छ र < त्यो समय धेरैलाई सम्झाएँ, पढ्नु पर्छ भनेर । 
'बिहे त एकदिन जस्को पनि हुन्छ, त्यो भन्दा पहिले आफ्नै खुट्टामा उभिनु पर्छ।' यसै भन्थेँ म उनीहरूलाई ।

ती शब्द म आमाले मलाई सम्झाउने वाक्यबाट सापट लिन्थेँ । मेरा केही साथीहरूले स्कूले जीवनमै विहे गरे । अहिले उनीहरूका छोराछोरी स्कूल जान्छन् । अनि उनीहरू चाहीँ आफ्नै जिन्दगीसँग गुनासो गर्छन् । 'हतारमा गरेको विहेले फुर्सदमा पछुताउने बनाउँदो रहेछ',भेट हुँदा यसै भन्छन् साथीहरू ।

सत्य बोल्नु पर्दा स्कूल र ११/१२ पढ्दा मलाई कसैले प्रेम प्रस्ताव राखेन । अझ भनौँ म कसैको प्रेमिका बन्न लायक ठहरिइनँ । कारण सामान्य थियो । म काली थिएँ । अहिले गोरी भएकी छु भन्न खोजेको होइन । त्यो बेला मेरो कालो छालाको क्षतिपुर्ति दिने अरु कुनै गुन म मा थिएन । सम्झिँदा खुसी लाग्छ, र आफ्नो वर्णप्रति गर्व पनि । यही वर्णको कारण मैले कुनै बनावटि भावनाको शिकार हुनु परेन । 


कक्षा १२ मा पढ्दादेखि मैले फेसबुक चलाउन थालेको हुँ । त्यो बेला हेटौँडाको स्थानीय पत्रिकामा काम गर्थेँ । मैले फेसबुकको प्रोफाइल फोटो परिवर्तन गरेको दिन अफिसका हाकीमले हाँस्दै भन्थे,
'काली, तेरो फोटो हेरेर तलाईँ भेट्ने मान्छे झुकिन्छ, फोटो एडिट नगरी पोस्ट गर्ने गर् ।'

मान्छे काली भएपनि फोटो चाहीँ हेर्ने लायक बनाएर पोस्ट गर्थेँ । उहाँको कुराले रिस पनि उठ्थ्यो, फेरी सोच्थेँ, 'छाला नै यस्तो छ, अरुसँग के रिसाउनू ?'

स्नातक पढ्दा मेरो आगमन नामक गजल संग्रह प्रकाशित भयो । म वक्तृत्वकला, वादविवाद र गजल प्रतियोगितामा सहभागी भईरहन्थेँ र पुरस्कार पनि पाउँथेँ । २०६८ मा 'वर्ष विद्यार्थी'कोे उपाधी  जितेपछि क्याम्पसमा थोरै चर्चा परिचर्चा हुन थाल्यो । म चिनिन थालेँ । स्थानीय रेडियोहरूले अन्तर्वाताका लागि बोलाए ।

गजल संग्रह निस्केको केही दिनमा एकजना पुरुषले चियाको प्रस्ताव राख्नुभयो । उहाँ म पढ्ने क्याम्पसमै पढ्नुहुन्थ्यो । हामी पहिलेदेखि नै फेसबुकमा जोडिएका थियौँ ।
चिया गफमा उहाँले भनेको एउटा वाक्य म अझैपनि सम्झिरहन्छु ।
'बिनिता जी, प्रतिभामा यति अब्बल बनाएका भगवानले तपाईँलाई रुपमा चाहीँ साह्रै ठगेछन् है ?'
त्यसपछि ती व्यक्तिसँग कहिल्यै भेट भएन र कुरापनि ।
तर अचेल मेरो फेसबूक पोस्टको कमेन्टमा उहाँको प्रसंसनिय शब्द पढ्न पाइरहेको हुन्छु । 

स्नातक तह सकिएपछि म मास्टर्स् डिग्रीका लागि राजधानी पसेँ । २०७० सालमा राष्ट्रिय वालविवाद प्रतियोगिताको विजेता भइसकेपछि सामाजिक सञ्जालमा प्रसंसा पाउन थालेकी थिएँ । त्यो बीचमा फेसबुकबाटै केही प्रेम प्रस्ताव आए । त्यसमध्ये केही मान्छेले साँच्चै प्रेम गर्छन् भन्ने आभाष भएर पनि मैले उनीहरूलाई अपनाउन सकिनँ ।
फेसबुकमा जोडिएकाहरूले प्रेम प्रस्ताव राख्दा उही हाकीमको कुरा सम्झन्थेँ । भेट हुँदा उनीहरू ढल्लान् भन्ने डर लाग्थ्यो । त्यसैले पनि मैले भर्चुअल प्रेम प्रस्ताव स्वीकार्ने आँट गरिनँ ।

केही समयअघि प्लस टु सँगै पढेको साथीले प्रस्ताव राख्यो । प्लस् टु पढ्दा चिनेको मान्छेलाई मास्टर्स  पढ्ने बेला प्रस्ताव राख्यौ त भनेर जिस्काएँ । 
उ अक्मकिँदै भन्यो, 'हैन, मन त त्यहिबेलादेखि पराउथेँ, भन्न डर लाग्थ्यो । 
'त्यो बेलादेखि अहिलेसम्म तिम्रो कतिओटीसँग ब्रेक अप भयो ?'
मेरो प्रश्नले उ अक्क न बक्क भयो । 
उसले मलाई प्रेम गरेको भए त उतीबेलै गर्नु पर्थ्यो, अहिले त मेरो क्षमतालाई प्रेम गरेजस्तो गर्दैछ भन्ने विचार उठ्यो मनमा ।
फिस्स हाँसेँ, ऊ पनि हाँस्यो । एउटा प्रेम प्रस्ताव त्यहिँ तुहियो ।

कामकै शिलशिलामा एकजना भलाद्मीसँग परिचय भयो । हामी एक अर्कालाई तिमी भनेर सम्बोधन गर्थ्यौँ। चिनजानको केही महिनापछि उसले प्रस्ताव राख्यो, प्रेमको होइन, विवाहको । प्रस्तावसँगै उसले अर्को योजना पनि सुनायो । विवाहपछि मैले काम गरिरहेको अफिस छोड्नु पर्ने, कतै काम गर्न नपाउने । छक्क परेँ । विवाह प्रस्ताव हो की, अपराधीलाई सजाय सुनाको ? मैले के अपराध गरेको छु र म उसको योजना अनुरुप बाँधिनु पर्ने ? ऊ कहाँको प्रहरी हो र उसको निर्देशन मैले मान्नु पर्ने ?
मैले हाँसेर प्रतिकार गरेँ । विवाहको लागि तयार नरहेको बताएँ । मनमनै उसको जीवनमा आउने मान्छेको बारेमा सम्झेँ । आफुलाई शिकारीको जालबाट भाग्यले उम्केको चरी झैँ स्वतन्त्र र भाग्मानी ठानेँ र सँधैका लागि हराएँ त्यो व्यक्तिको छत्रछायाँबाट ।


जिन्दगी अलि प्रोफेसनल बन्दै गएको छ । कामकै शिलशिलामा मान्छेहरूलाई भेट्नु पर्छ । कफी गफ धेरैसँग हुन्छ । मलाई कफि गफ रमाइलो पनि लाग्छ । कसैलाई सुन्नु भनेको केही जान्नु हो, केही बु्झ्नु हो जस्तो लाग्छ । कफी गफका पात्र महिला र पुरुष दुबै हुन्छन् । कति पुरुष पात्रहरू कफी गफमै प्रस्तावका कुरा उप्क्याउन खोज्छन् । हाँसेर टारिदिने बानी परेको छ । सोच्छु, मान्छे प्रेमलाई किन यति हलुकासँग तौल्न खोज्छन् ?


समयसँगै प्रेम प्रतिको मेरो बुझाइ बद्लिएको छ । अचेल मान्छे प्रेम कम र डिल बढी गर्छन् । पहिले आफु स्वतन्त्र भएर जिउन सक्ने हुनू, त्यसपछि अरुको विचार र चाहनाको कदर गर्न सक्ने टुँडिखेल जस्तै फराकिलो मुटु बनाउनु । विवाह साथको लागि गरिने हो, साहराको लागि होइन भन्ने मानसिकता बसाउनू । प्रेम स्वतन्त्र हुन्छ र यसलाई कैद गर्नु हुन्न भनेर बुझ्नू । महिलाहरू अचेल आफ्नो हुनेवाला श्रीमान् कति कमाउँछ भन्दा पनि कति ख्याल राख्छ र कति भलाद्मी  भन्ने कुरा जान्न चाहन्छन् भन्ने कुरा सोच्नू ।

फाइदा र वेफाइदा हेर्नेले त व्यापार गर्ने हो, त्यस्तो मान्छेले प्रेम गर्छु भन्नु प्रेमकै अपमान गर्नु हो 
कसैलाई पाउन सक्छु की भनेर राखिने प्रस्ताव प्रेम होइन, प्रेम गर्नेले प्रस्ताव राखिरहन जरुरत छैन ।

-बिनिता कार्की
०७ फाल्गुन २०७४ 

x

बिनिता कार्की:

राम्रोलाई राम्रो व्यबहार र नराम्रोलाई पनि राम्रै व्यबहार गर्ने मान्छे


Let's Get Connected: Twitter | Facebook | Google Plus

CONVERSATION