अपार आदर र न्यानो माया ।
के छ दाजु तपार्इंको हाल खबर ? आशा गर्छु, शारीरिक रूपमा कुशलमंगल हुनुहुन्छ । शारीरिक रूपले यस अर्थमा की गाउँ, घर, साथीभाइ र परिवारको यादले मानसिक रूपमा तपार्इं कति विक्षिप्त हुनुभएको होला भन्ने कुरा तपाईँ जस्तो माया गर्ने दाजुसँग विछोडीनु पर्दाको पीडाले पिल्सिएकी म जस्तो बहिनीले महशुस गर्न सक्छे ।
छक्क पर्नु भयो होला, फोन र इन्टरनेटको जमानामा पनि पत्र कोर्ने कष्ट गरेकी होली भनेर । भनिन्छ नि दाजु तामाको कसौँडीमा पकाएको खानाको स्वाद आधुनिक ‘राइस कुकर’बाट पाउन सकिँदैन । हो, त्यसरीनै हृदयभित्र उथलपुथल भएका भावनाहरू प्रस्फुटन गराउने उपयुक्त माध्यम पत्र नै लाग्यो । फोनमा सीमित कुरा हुन्छ, फेसबुक च्याटमा पनि धोको फेरेर गफ गर्न पाईँदैन । जति नै आधुनिकतामा रमाए पनि आफ्नो मौलिकता नै प्यारो लाग्नु भनेको परदेशमा जतिनै सुख र आनन्दमा रमाए पनि स्वदेशको मायाले सताउनु जस्तै हो ।
दाइ, तपाईं गए लगत्तै गाउँका धेरै दाजुहरूले तपाईँकै बाटो अपनाउनु भयो । अहिले सिङ्गो गाउँ मसानघाट जस्तो भएको छ । मर्दापर्दा मान्छे जुटाउनै कठिन छ । जन्ती र मलामी जान समेत मान्छेको हाहाकार हुन्छ । बुबाआमाहरू सकेको खेतिपाती गरेर या त मझेरीमा बसेर तपाईँ जस्ता परदेशी छोराको पर्खाइमा दिन काटीरहेका छन् । सानासाना भाई बहिनीहरू स्कूल जाने र खेलेर दिन काट्ने गर्छन् । मेरो उमेरका साथीहरू पनि अध्ययनका क्रममा छिमेकी सहर पसेका छन् । साँच्चै भन्नु पर्दा चैतको खडेरी जस्तै उराठ लाग्दो भएको छ हाम्रो गाउँ । जीवनका अनगिन्ती स्वर्णिम पलहरू त्यहि गाउँको काखमा हाँसेर बिताएको घटना अझै पनि आँखामा प्रतिबिम्ब बनेर आउँछ । आज त्यहि गाउँलाई विरह र एक्लोपनले सताउँदा पनि केही गर्न सकिएको छैन ।
गाउँमा उच्च शिक्षाको सुविधा भइदिएको भए आज अध्ययन कै लागि भनेर यो मानवता हराएको विरानो सहरमा निसास्सिनु पर्ने थिएन होला । के गर्नु दाजु, बालापन सम्झेर ल्याउँदा मुटु भक्कानिएर आउँछ । छातीमा बज्र हाने जस्तो हुन्छ । सहनशीलताले सिमा नाघ्छ अनि हृदयको पीडा आँखाबाट श्रावण बनेर दर्किन्छ । सोच्दै छु, यो सहरमा जस्तो क्याम्पस हाम्रो गाउँमा पनि भइदिएको भए अनि तपाईंले विदेशमा गर्नु पर्ने काम नेपालमै पाईने भइदिए कति सुखी र खुसी हुन्थ्यो होला हाम्रो जीवन ? अरु कुरा त के गर्नु र दाजु, गाउँमा अचेल खेताला पाईंदैन भनेर आमा गुनासो गर्नुहुनथ्यो । खोलापारीको गैह्री खेतमा चैते धान रोप्न जना नपाएर बाँझै बसेछ । अस्ती बिर्खे काका बित्दा लास उठाउने मान्छे नभएर छिमेकी गाउँलेलाई गुहार्नु परेछ । रामे दाइ परदेशबाट आएर बिहे गर्नुभयो । तर जग्गे बनाउनदेखि लिएर सारा काम आफैँले गर्नुभयो, जन्ती जाने पनि साना केटाकेटी र बुढाबुढी मात्रै भए । अब आफँै सोच्नुस् त दाजु गाउँको अवस्था कस्तो होला ?
यो समस्या हाम्रो मात्र हैन दाजु, सारा नेपालको समस्या हो । गाउँमा मर्दापर्दा युवा जमात नभेटिए जस्तै देशले देश हाँक्ने सहि चालक भेटिरहेको छैन । डाक्टर, इन्जिनियर जस्ता देशमा अत्यावश्यक जनशक्ति एकाएक विदेश पलायन हुन थालेका छन् । एक त सैद्धान्तिक शिक्षाले दक्ष जनशक्ति उत्पादन गर्न सकेको छैन । अर्कोतिर दक्ष जनशक्तिलाई पनि आवश्यक सेवा सुविधा दिन नसक्दा पलायनको स्थिति बड्दो छ । शिक्षित बेरोजगारको सङ्ख्या चुलिँदै छ । राज्य भने सरकार बनाउने र ढाल्ने अनि कुर्सीको खिचातानीमै व्यस्त देखिन्छ । जसरी गाउँमा उच्च शिक्षाको लागि क्याम्पसको आवश्यक्ता छ, त्यसरी नै राष्ट्रले बेरोजगारी समायोजनको लागि रोजगारको अवसर सिर्जना गर्न आवश्यक छ । देशको स्थिति झन्झन जीर्ण बन्दै गएको छ । गाउँ र देशको समस्या लगभग मिल्दोजुल्दो छ । जसरी गाउँका आमाबुबाहरू परदेशी छोराको पर्खाइमा बसिरहेका छन्, त्यसरी देशले सह िचालक खोजिरहेको छ । मूल नै धमिलिएको अवस्थामा कुलोमा सफा पानीको अपेक्षा गर्नु आफैँमा मुर्खता हो । आज सिङ्गो देश नै सङ्क्रमणकालको चपेटामा परेको बखत त्यसको प्रभाव हाम्रो गाउँमा पनि पर्नु अस्वभाविक हैन । देश बनाउँछु भन्नेहरू देशको अस्मीतामाथी खेलवाड गर्दैछन् । हिजोका दिनहरूमा आश्वासनको कुरा थोपरेर, कलिला हातहरूमा बन्दुक थमाएर, स्वतन्त्रताका लागि सबैलाई आन्दोलनमा होमिन लालायित गराउने बुजु्रकहरू आज सारा प्रतिबद्धतालाई तिलाञ्जली दिएर आÇनै स्वार्थ पूर्तिका लागि
लडिरहेका छन् । अब देशको अस्मिता बचाउन र आÇनो पहिचानलाई स्थायित्व दिन विकल्पको खोजी गर्नै पर्ने बेला आएको छ ।
दाइ, गाउँ र देशको स्थिति त थाहा पाइहाल्नु भयो । आज देशलाई तपाईँजस्ता दाजुहरूको कति खाँचो छ भन्ने कुरा मैले भनिरहनु पर्छ जस्तो लाग्दैन । विगतमा शाहको नाममा भएको सामन्तवाद आज लोकतन्त्रको नाममा भईरहेको छ । सोझासादा नेपालीको आँखामा छारो हालेर दुधको सिसीमा रक्सी बेच्ने प्रवृति झनै मौलाउँदै गएको छ । हाम्रै पसिनाको पजेरो चढेर, हाम्रै रगतको चौरासी व्यञ्जन खाएर, अनेक भ्रम र आश्वासनमा राखी, काम कर्तव्य चटक्कै भुलेर, फेरि हाम्रै पिठ्युमा घातको छुरा हान्नु कतिसम्म सहनीय होला दाजु ? मातृत्व धरापमा परेको छ, बचाउन तपाईँ जस्ता सपुतको खाँचो छ । यदि देश नै रहेन भने तपाईँले गरेको धनको खेतिको के काम र ? देश बचाउन सकियो भने त खोले खाएरै भै पनि गर्वका साथ नेपालीको पहिचान बोकरे बाचौँला । स्वर्गको दास हुनु भन्दा नर्कको राजा हुनु वेस हुन्छ दाजु । जति नै धन कमाए पनि भोली हाम्रो नेपालीपन नै रहेन भने र कसैको दासत्व स्वीकार्नु प¥यो भने त हामी जीउँदो लास हुनेछौँ । त्यसैले तपाईँ धनको खेति गर्न छोडेर नेपालआमाको अस्मिता बचाउन यथाशिघ्र स्वदेश फर्कनै पर्छ ।
देशमा पनि प्रसस्तै सम्भावनाहरू छन् । २० वर्षपछि स्थानीय निवार्चन भएको छ । आफ्नो ठाउँ आफैँले बनाउन सक्ने राम्रो अवसर हो यो । यस्तो अवस्थामा निर्वाचित पदाधिकारीलाई हौसला दिने र हातेमालो गर्ने व्यक्तिको आवश्यकता छ । सबैले मिलेर स्थानीय स्रोत साधनको सदुपयोग गर्ने हो भने परिवारको सपना किन्न परदेश भाँसिनु पर्ने अवस्था रहँदैन । स्वदेशमै समृद्धि फुलाउन सकिन्छ । एक पटक मर्नु नै छ, मर्नुभन्दा पहिले एउटा युग बाँच्ने अवसर गुमाउन हुँदैन ।
त्यसैले दाजु तपार्इं छिट्टै फर्किनूस् । फर्किदा आफू एक्लै नफर्किन, मेरो यो निमन्त्रणा तपाईँजस्तै लाखाँै नेपाली दाजुहरूलाई पनि हो । हामी मिलेर हाम्रोसमाज बनाउनु पर्छ, देश आफैँ बन्नेछ ।
हजुर फर्किनु हुनेछ भन्ने अपेक्षा ।
उही आशावादी बहिनी
बिनिता कार्की
CONVERSATION