HOME ARTICLES BLOG INTERVIEWS & REVIEWS STORY POEM GHAZAL MUKTAK MISCELLANEOUS LITERATURE
image1 image2 image3

के हामी फेरि साथी बन्न सक्छौँ ?


एउटा सम्बोधन बिनाको पत्र । सम्बोधन गर्न कुनै नाता नभेटीएकोले सम्बोधन बिनै लेखिएको पत्र । काल्पनिकता लागेमा संयोग मात्र हुनेछ, यो पत्र । 
तिमीलाई याद छ की छैन, २०६२ पुस १७ गते हाम्रो दोस्रो भेट भएको थियो । पहिलो भेटकोे मिति याद छैन, त्यसको खासै तर तिम्रो त्यो अबोध अनुहार अझैपनि मेरो स्मृतिमा ताजा छ । दोस्रो भेटपछि नै हो हाम्रो मित्रता झाङ्गिएको । तिमी ८ कक्षामा पढ्थ्यौ, म ७ मा । जाडो बिदा मनाउन आएकी तिमीसँग १५ दिनमा नै मित्रता गाढा बनेछ । त्यो कुरा मैले तिमी फर्केपछि मात्र महशुस गरें । 
हाम्रो मित्रता विषेशतः तीन अवस्थाबाट गुज्रीरह्यो । पहिले दूरीले टाढा, तर मनले नजिक । त्यसपछि दूरीले नजिक तर मनले टाढा र अहिले दूरी र मन दुबैबाट टाढा । टाढा पनि यति भएछौँ कि म कहिलेकाहीँ तिमी मेरो साथी थियौ भन्ने सोच्दा आफै चकित हुन्छु । कता कता चिमोटिन्छु । र आफुले गरेका गल्ति सम्झेर पछुताउँछु पनि । यो पत्रलाई त्यहि प्रायश्चितताको दशी मान ल । 
हाम्रो मित्रतामा कुनै स्वार्थ थिएन । १५ दिनमा तिमीबाट मैले धेरै कुरा सिकेकी थिएँ । तिमीले नै सिकाएकी थियौ मलाई राती सुत्ने बेला चकलेट खानु हुँदैन भनेर । तिमीबाटै सिकेको हो मैले नम्र भएर बोल्न । बिदामा आउँदा पनि तिमीले पढेको देख्दा पढ्न मन लाग्थ्यो मलाई पनि । नत्र घरमा हुँदा पढ्ने हाम्रो चलन थिएन । जति पढिन्थ्यो, स्कूलमै पढिन्थ्यो । त्यो १५ दिन मेरो जिन्दगीको सम्झन लायक दिनहरू मध्येका दिन थिए ।
राती राती आगो बालेर ताप्दा गरिने रमाईला गफ अझै पनि कानमा गुञ्जीरहन्छन् । राती लुकीडुम खेल्दा म धेरैबेर लुकेर बस्थेँ । तिमीले खोज्दै ‘बिनिता’ भनेर बोलाउँदा साह्रै आनन्द लाग्थ्यो । मेरो नाम त्यति मिठो मैले त्यसभन्दा अघि कहिल्यै सुनिनँ । तिमीले बोलाएपछि नै हो मलाई मेरो नाम राम्रो लाग्न थालेको । राती राती बारीबाट चोरेर ल्याएको आलु पोलेर खाँदाको स्वाद जति मिठो कहिल्यै मेरो जिब्रोले ठानेन । 
तिम्रो हुलिया सहरीया केटीको जस्तो थियो । म जस्तो गाउँले साथीसँग तिमी त्यसरी नजिकिएकोमा म साँच्चै दङ्ग थिएँ । तिमी मेरो साथी हो भन्न पाउँदा गाउँमा शान बढेको थियो मेरो । कति छिटो साथी बनाउँछे यसले त भनेर इष्र्या गर्थे साथीहरू । घरमा पाकेको चिज मिठो मानेर खाईदिने तिम्रो बानीको फ्यान थिएँ म । बच्चालाई कथा सुनाउथ्यौँ तिमी, त्यसपछि अनुकरण गरेकी हुँ मैले पनि । तिम्रो हरेक व्यवहारले तानेको थियो मलाई । मलाई तिमी जस्तै नम्र र ज्ञानी हुन मन लाग्थ्यो । कोसिस पनि गरेकी थिएँ । मैले भनें नि, म त्यो भन्दा पहिले कसैसँग पनि त्यसरी प्रवाभित भएकी थिईन। 
१५ दिन बितेको पत्तै भएन । कति उपद्रव गरियो । कति हाँसियो, कति खेलियो । एउटा सिङ्गो बालापन बाँचेको थिएँ मैले त्यो बेला । तिमी फर्किने दिन नजिकिँदै गर्दा म त दुःखी थिए नै, दुःखी नै देखिन्थ्यौ तिमी पनि । आफ्नै घरमा जान लाग्दा नी किन दुःखी भनेर जिस्क्याउँथेँ म । माघ २ गते तिमीलाई बस चढ्ने ठाउँसम्म पुर्याएर फर्किए । । तिमीले त्यो बेला एउटा कलम उपहार दिएकी थियौ मलाई । पत्याउछ्यौ ? त्यो कलम अझै पनि सुरक्षित छ मसँग ।  टिलपिल भएका तिम्रा आँखा र त्योभन्दा धेरै गरि पोखिएको मेरो मन मैले भुलेको छैन ।
तिमी फर्किएको झण्डै एक महिनापछि अंकलसँग चिठ्ठी पठाएकी थियौ नी, याद छ ? त्यो चिठ्ठी मैले पचासौँ पटक पढेँ होला । साथीहरूलाई पनि बारम्बार पढेर सुनाएकी थिएँ । मैले त्यो समयसम्म पाएको सबैभन्दा अमूल्य उपहार लागेको थियो त्यो चिठ्ठी । चिठ्ठीसँग पठाएकी थियौ तिमीले एकजोर झुम्का, जुन मैले भोलीपल्ट स्कूल जाँदा लगाएकी थिएँ र सुनाएकी थिएँ सबै साथीलाई तिमीले पठाएको उपहार भनेर । पत्र आदानप्रदान भईरह्यो हाम्रो ।
दूरीले टाढा भएको आभाष कहिल्यै भएन । जब हामी दूरीले टाढा र मनले नजिक थियौँ नी, म त्यो समय सिला खोजेको गहुँ बेचेर आएको पैसाले  मिनेटको १० रुपैयाँ तिरेर तिमीलाई फोन गर्थें, त्यो पनि झण्डै आधाघण्टाको बाटो हिँडेर टेलिफोन बुथमा गई । साह्रै प्रफुल्ल हुन्थें तिमीसँग कुरा गरेको दिन । मनमा एक किसिमको उमङ्ग आउँथ्यो । खुशी हुने एउटा राम्रो बाहाना हुन्थ्यो तिमीसँग गरिएका कुरा । 
समय बित्तै गयो । यो बिचमा धेरै पटक भेट भयो हाम्रो । प्रत्येक भेटले मित्रताको दियोमा तेल थप्ने काम ग¥यो । मित्रताको जरा पनि मजबुत हुँदै गएको पाउँथेँ म । समय बदलियो । हाम्रो पनि जिम्मेवारी थपियो । भविष्यको चिन्ताले सताउन थाल्यो । त्यसपछि म उच्च शिक्षाको लागि काठमडौ आएँ । तिमी पनि अध्ययनमा व्यस्त हुन थाल्यौ । बिस्तारै हाम्रो मित्रता दोस्रो अवस्थाबाट गुज्रिन थाल्यो ।  अर्थात दूरीले नजिक तर मनले टाढा । यो बिचमा मैले केहि पटक तिम्रो मनमा ठेस लाग्ने काम गरेछु । तर त्यो ठेसले तिमीलाई त्यति धेरै दुख्ला भन्ने कहिल्यै सोचिनँ । तिमीसँग कुरा गर्दा पहिले जस्तो आत्मिएता महशुस हुन छोडेको थियो । तैपनि म तिमीसँग कुरा गर्न खोज्थेँ । समयले साथ दिएसम्म भेट्न जान्थेँ तिमीलाई । तिम्रो घर आफ्नै जस्तो लाग्थ्यो र लाग्छ पनि ।  
मैले हाम्रो मित्रलाई जोगाउन प्रयत्न गरिरहेँ । तर किनकिन मित्रतालाई एकोहोरो घिच्याईरहेछु जस्तो भान हुन थाल्यो । तिम्रो मप्रतिको व्यवहारमा परिवर्तन आएको थियो । कारण तिमीप्रति मैले गरेको व्यवहार थियो । मैले प्रायाश्चित गर्न पनि खोजेको हो । तर तिमी मलाई न घृणा गथ्र्यौ न माया । न रिसाउँथ्यौ, न खुसी नै हुन्थ्यौ । त्यो किसिमको तिम्रो व्यवहारले साह्रै दुखेकी थिएँ म र दुखेकी छु अझै पनि । तिमीलाई मैले पुरानो भूमिकामा कहिल्यै पाउन सकिन त्यसपछि । 
अचेल हामी हाम्रो सम्बन्धको तेस्रो अवस्थामा छौं । दूरीले पनि टाढा र मनले पनि । अब हामी साना रहेनौँ । मैले जसरी अध्ययन र सुन्दर भविष्यका लागि गाउँ छोडें,  तिमीले त्यसरी नै देश छोड्यौ । मैले तिमीलाई साथी भन्न पाउने अधिकार नै गुमाइसकेँ जस्तो लाग्छ अचेल त । मेरो मनमा तिम्रो लागि अझै पनि उही माया र सम्मान छ । मेरो केही व्यवहारबाट तिमी दुखेकी छौ, तर मेरा ती गल्तीहरू हाम्रो १२ वर्षको मित्रता भन्दा सशक्त होलान् भन्ने मैले कहिल्यै सोचिन ।
तिमी मेरो यस्तो साथी हौ जसले मलाई साथीको महत्व सिकायो । आज त्यही साथी बिरानो भएको छ । यो जति दुर्भाग्य के हुन सक्ला र मेरो लागि ? यदि हामी कुनै कोणबाट साथी छौँ भने त्यो फेसबुकमा छौँ । अझ भन्नुपर्दा त्यतिपनि छैनौँ । फेसबुकका अन्य साथीले सजरी तिमी मेरा पोस्टहरूमा मन पराइएको सङ्केत कहिल्यै दिँदैनौ । मेरो इन्बक्समा तिमीले हाइ भनेको मेसेज कहिल्यै आउँदैन । कहिलेकाहीँ तिमीले मैले मेसेन्जरमा अपलोड गरेको स्टोरी हे¥यौ भनेपनि साह्रै खुशी लाग्छ । हामी साँच्चै बिरानो बनेका छौँ । दोभानमा छुट्टिएको नदी र दोबाटामो छुट्टिएको यात्री जस्तै बिरानो । २०६२ पौष १७ भन्दा अगाडी जस्तै बिरानो । 
तिमी सँधै भन्ने गथ्र्यौ, मेरो धेरै साथी छन् । तर म कति एक्लो महशुस गर्छु त्यो मलाई मात्रै थाहा छ । कमजोरी देखाउन मन नलाग्नु फरक कुरा हो । म पनि दुख्छु । म पनि रुन्छु । मलाई पनि साथी चाहिन्छ । तर सबैको यस्ता रहर बुझ्न खोज्दा मलाई बुझ्ने कोही भएन । सबैको साथी बन्न खोज्दा म कसैको पनि साथी बन्न सकिँन । जिन्दगीमा सबैलाई समेट्न खोज्दा म स्वयम् भने कतैपनि समेटिन सकिनँ । जिन्दगी चलिरहेको छ । चल्नु पनि पर्छ । तर कसरी चलेको छ भन्ने कुराले महत्व राख्छ । म दुखेरै हुर्केको मान्छे । दुःखहरूले सशक्त बनेको मान्छे । तर तिमीसँगको मित्रताको दुखाईले थला पारेको छ । म अरु जे जे भएपनि एउटा ‘साथी’ बन्न नसकेकोमा सँधै आत्मग्लानी भई रहन्छ । 
आज तिम्रो जन्मदिन । जन्मदिनमा उपहार त तिमीलाई दिनु पर्ने हो । तर आज म तिमीसँग माग्दैछु । यदि तिमी मलाई पढिरहेकी छौ भने तिमीले बुझीसक्यौ की तिमी नै हो त्यो पात्र । तिमी नै हो त्यो पात्र, जो १५ दिनमा मेरो घनिष्ट साथी बनेको थियो । तिमी नै हो त्यो पात्र जसको मन मैले पटक पटक दुखाएकी छु ।
तिमी नै हो त्यो पात्र जोमसँग टाढिएको छ र तिमी नै हो त्यो पात्र जोसँग म फेरि साथी बन्न चाहन्छु । तिमी जे भन्छौ म त्यहि मान्छु । अब बिर्सेर पनि कुनै व्यवहारले तिम्रो मन दुखाउने छैन । तिम्रो मनमा ठेस् पुग्ने कुनै गल्ति गर्ने छैन । आजसम्म गरेका गल्तिको लागि जे सजाए दिए नी देउ तर यसरी पराया व्यवहार नगर । एक अपरिचित नबनिदेउ । एकपटक मौका दियौ भने म तिम्रो सच्चा साथी भएर हरपल साथ दिनेछु । मलाईपनि तिम्रो साथको अभाव नहोस् भन्ने चाहना छ । म फेरि तिमीसँग उसैगरी हाँस्न चाहन्छु जसरी हामी हाँसेका थियौँ लुकीडुम खेल्दा ।
म फेरिपनि तिमीसँग त्यसरी नै कुरा गर्न चाहन्छु जसरी हामी कुरा गथ्र्यौँ राती आगो ताप्दा । म फेरि तिमीसँग त्यसरी नै रम्न चाहन्छु जसरी हामी रमेका थियौँ नक्कली सर्पले अरुलाई तर्साउँदा । म तिमीलाई त्यसरी नै सुन्न चाहन्छु जसरी तिमीले सुनाएकी थियौ चाख लाग्दा कुरा हामी जैतापुर जाँदा । दूरीले टाढा भएपनि म मनले नजिकिन चाहन्छु तिमीसँग । आज तिम्रो जन्मदिनमा एउटा प्रश्नको उत्तर माग्छु । यो प्रश्नको सकारात्मक उत्तर मेरो जिन्दगीको महत्वपुर्ण उपलब्धी मध्ये एक हुनेछ । परिचित हुनु र साथी हुनु फरक कुरा हुन् । अहिले हामी केवल एक अर्कासँग परिचित जस्ता मात्र हुनपुगेका छौँ । म फेरि तिम्रो साथी बन्न चाहन्छु ।  
‘के हामी फेरि साथी बन्न सक्छौँ ?’
तिम्रो उत्तरको पर्खाईमा 
बिनिता

बिनिता कार्की:

राम्रोलाई राम्रो व्यबहार र नराम्रोलाई पनि राम्रै व्यबहार गर्ने मान्छे


Let's Get Connected: Twitter | Facebook | Google Plus

CONVERSATION