बिनिता कार्की
‘तराईमा भीषण हावाहुरी, सचेत रहन सबैलाई सुझाव’ भनेर १७ चैत्र राति ९ बजे गाउँका एक जना दाइले फेसबुकमा स्ट्याटस् राख्नुभयो । स्ट्याटस् पढ्नासाथ हातगोडा काम्न थाले । आमालाई फोन लगाएँ । ‘हुरीबतास आएर केही सुनेको छैन, अहिले राख्,’ फोन उठ्नासाथ आमाले यत्ति भन्नुभयो र फोन कट्यो । म निदाउन सकिनँ । मनमनै केही क्षति नहोस् भनेर प्रार्थना गर्नुको विकल्प थिएन । गाउँमा केके क्षति पो हुने हो भनेर मन अतालिरह्यो । म सानो छँदा एक साल आएको हावाहुरीले गाउँका धेरै घरको छाना उडाएको सम्झिएँ । यो वर्षको हावाहुरी त्यति भीषण नहोस् भनेर कामना गरिरहें ।
बिहान ब्युझिनासाथ आमालाई फोन लगाएँ । गाउँतिर सबै ठीक रहेछ । हुरीले कुनै नोक्सान गरेको रहेनछ । सुनेर मन हल्का भयो । मोबाइलमा वाइफाइ कनेक्ट गरें । ब्रेकिङ समाचारमा ‘बारा पर्सामा भीषण हावाहुरीः २५ को मृत्यु, ४ सयभन्दा बढी घाइते’ लेखिएको समाचारले मर्माहत बनायो । तत्काल सिमराका पत्रकार दाइ कृष्ण सिग्देललाई फोन गरेर त्यहाँको अवस्था बुझें । उहाँले ‘म प्रभावित क्षेत्रमै छु, विजोग छ, अहिलेलाई त चाउचाउ र चिउरा मात्र ल्याउन सके पनि ठूलो राहत हुन्छ’ भन्नुभयो । यूएसवाइसी २०१७÷१८ ब्याचको म्यासेन्जर ग्रुपमा बारा पर्सामा ठूलो क्षति भएको जानकारी गराउँदै हामीले केही सहयोग गर्न सक्छौं कि भनेर म्यासेज लेखें । ग्रुपका एक मित्र विशालले फोन गर्नुभयो । साँझ भेट्ने कुरा भयो । १८ गते साँझ म, विशाल, पवित्रा र रजीला बहिनी पुतलीसडकमा रहेको विशालको अफिसमा बस्यौं । हामीसँग न त पैसा थियो, न त राहत सामग्री नै । थियो त केवल प्रभावितको घाउमा मलहम लगाउन सक्नुपर्छ भन्ने मानवीय भावना मात्रै ।
काठमाडौंमा राहतका सामग्री संकलन गर्दा प्रभावित क्षेत्रसम्म पु¥याउन ढुवानी खर्च बढी लाग्छ । ढुवानी खर्चकै अभावले कति राहत थन्केर बस्छन् । त्यसैले हामीले आर्थिक सहयोग नै संकलन गरी वीरगन्ज गएर सामान किन्ने र प्रभावित क्षेत्रका ५० परिवारलाई त्रिपाल, सोलार बत्ती र झुल वितरण गर्नेे निधो गर्यौं । ‘हामी हावाहुरीप्रभावित क्षेत्रका ५० परिवारलाई त्रिपाल, झुल र सोलार बत्ती लिएर जाँदै छौं, सहयोगी मनहरूले आर्थिक सहयोग गरिदिनुहोला ।’ भनेर तत्काल फेसबुकमा पोस्ट गर्याैं । राहत संकलनका लागि सामाजिक सञ्जाल प्रभावकारी माध्यम हो । पोस्टमा विशालको ई–सेवा खाता नम्बर पनि राखियो र सहयोगका लागि अपिल गरियो । हामीले आफ्ना साथीहरूलाई म्यासेज पठाएर सहयोगका लागि अनुरोध पनि गर्यौं । १९ गते साँझसम्म हामीसँग करिब ७५ हजार संकलन भयो । राहत सामग्री किन्न हाम्रो अनुमानित बजेटअनुसार ५० परिवारका लागि करिब १ लाख रूपैयाँ लाग्ने भयो । आवश्यक रकम नजुटिसकेकाले हामीले २१ गते मात्र प्रभावित क्षेत्र जाने निधो गर्यौं ।
भगवानले ‘तँ आँट, म पु¥याउँछु’ भन्छन् भनेजस्तै २० गते साँझसम्म हामीसँग आवश्यक रकम जम्मा भयो । हामीसँग प्याड बैंकका प्रतिनिधि सुष्मा दिदी पनि जोडिन आउनुभयो । २१ गते बिहान ७ बजेको सुमोमा हामी हामी चार जना वीरगन्ज हानियौं । वीरगन्जकै स्वयंसेवक साहिल भाइलाई हामीले किन्ने सामग्रीहरूको बजार भाउ बुझ्न लगाइसकेका थियौं । सामान खरिद गर्नु पहिले कम राहत पुगेको ठाउँ पत्ता लगाउन स्थानीय पत्रकार र जनप्रतिनिधिहरूसँग निरन्तर संवाद गर्यौं । हामी राहत बोकेर सुवर्ण गाउँपालिका–५ को परशुरामपुर जाने निधो भयो । सो गाउँपालिकाको वेबसाइट हेरेर वडा नम्बर ५ का सचिवको नम्बरमा फोन गर्यौं र त्यहाँ तत्काल के आवश्यक छ भनेर बुझ्यौं । उहाँले सोलार बत्ती, त्रिपाल, झुल र पकाउने भाँडा आवश्यक रहेको बताउनुभयो । उहाँकै सल्लाहअनुसार हामीले ती सामग्री किन्यौं । बजेटले सकिने भएकाले सामग्री ५० होइन, ६० परिवारका लागि किनियो ।
राहत संकलनका लागि सामाजिक सञ्जाल प्रभावकारी माध्यम हो । पोस्टमा ई–सेवा खाता नम्बर राखियो र सहयोगका लागि अपिल पनि गरियो । हामीले आफ्ना साथीहरूलाई म्यासेज पठाएर सहयोगका लागि अनुरोध पनि ग¥यौं
२२ गते बिहान हामी ६० परिवारका लागि पकाउने भाँडा, झुल, त्रिपाल, सोलार बत्ती र महिलाका लागि स्यानिटरी प्याड बोकेर परशुरामपुरतिर लाग्यौं । त्यहाँको वस्तुस्थितिले भावुक बनायो । भत्किएका टहरा, आफन्त गुमाएकाको कारुणिक अनुहार, भोकले व्याकुल बालबालिकाका अबोध चेहरा, सेनाले बनाइदिएको टेन्टभित्र एक गाँस खाना पर्खेर बसेको सुत्केरी महिलाको भोको पेट, साहनुभूति दिन आएका उनीहरूका आफन्तको राहतप्रतिको मोह र स्थानीय निकायको भवनभित्र थन्किएर बसेका राहत सामग्री सबै सबैलाई हामीले नियाल्न भ्यायौं । प्रभावित क्षेत्रमा ढिलो पुगेकोमा आत्मग्लानी भयो ।
हामी बसेको गाडी अगाडि बढ्दै गर्दा हजुरआमा उमेरकी एक महिलाले बाटोछेउबाट कारुणिक स्वरमा ‘हम्नीके वर्तन नामिली ?’ (हामीले भाँडा पाउँदैनौं) भनेर सोध्नुभयो । गाडी गुडिरहेकाले उहाँलाई जवाफ त दिन पाएनौं तर मनमनै भने ‘हामीले ल्याएका भाँडाकुँडा तपाईंकै लागि हो आमा’ भनेर वडा कार्यालयतर्फ अघि बढ्यौं । हामीमध्ये केही सामान झार्न लाग्यौं । केही साथीहरू वडा सचिव र स्थानीय युवाको साथमा गाउँ अवलोकनतर्फ निस्किए । त्यसबीचमा मैले सशस्त्र प्रहरी बलका एक जवानसँग त्यस ठाउँमा आएको राहतको अवस्थाबारे सोधें । उहाँले राहत सामग्री त आएको तर जनप्रतिनिधिले भण्डारण गरेर राखेको बताउनुभयो । आतपकालीन अवस्थामा आएको राहतलाई पनि भण्डारण गरेर राखेको सुन्दा जनप्रतिनिधिसँग रिस उठ्यो । ठीक त्यही बेला प्रहरी प्रशासनले वडाध्यक्षलाई राहत भण्डारण गरेर राख्नुको कारण सोध्दै जतिसक्दो छिटो पीडितलाई वितरण गर्न अह्राए । वडाध्यक्षले पनि मौसम अनुकूल नरहेकाले वितरण गर्न नपाएको कारण बताउँदै त्यही दिन बाँड्ने प्रतिबद्धता जाहेर गरे ।
परशुरामपुरका ५३ परिवारलाई राहत वितरण गरेर हामी महागढीमाई नगरपालिका–७ को तेलगाई गाउँ पुग्यौं जहाँको ८६ घरमध्ये २९ घर पूर्णरूपमा क्षति भएका थिए भने एक जनाको मृत्यु पनि भएको थियो । त्यस गाउँमा नगरपालिकाले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको रहेछ । हामीसँग बाँकी रहेको स्यानिटरी प्याड त्यही शिविरका संयोजकलाई हस्तान्तरण गर्यौं । बाँकी रहेको सात परिवारलाई पुग्ने राहत सामग्री घरघरमा गएर बढी क्षति भएको परिवारलाई दियौं । हामी फर्किनै लाग्दा एक जना महिला आएर हामीले खाना खाए÷नखाएको सोध्नुभयो । मैले नखाएको बताएँ । उहाँले खाना खान जान अनुरोध गर्नुभयो, हामी त्यसै अघायौं । घर ढलेको छ, आफन्त तथा छिमेकीको मृत्युको शोक छ, घरमा भएको अन्न माटोसँग सराबर भएर मिसिएको छ, तैपनि गाउँमा राहत बाँड्न आएकाले खाए÷नखाएको चिन्ता छ । उनको अनुरोधले हामी सबै भावुक भयौं । हाम्रो महानता भनेकै त्यही होला सायद । भोकको पीडा भोक सहनेलाई नै थाहा हुन्छ । उनले सहेको भोक हामीले सहन नपरोस् भन्ने चाहन्थिन् सायद उनी । उनी र उनीजस्ता सबै प्रभावित परिवारको ढलेको घर चाँडै उठोस् र उडेका खुसी फेरि छिट्टै फर्केर आओस् भन्ने कामनासहित हामी फर्कियौं ।
हरेक वर्ष ठूलो जनधनको क्षति भएपछि क्षतिपूर्तिको घोषणा गर्नुभन्दा विपद् जोखिम व्यवस्थापनको पूर्वाधार तयार गर्नतर्फ सम्बन्धित सबै निकायको ध्यान जान जरुरी छ । राहत वितरण क्षणिक सहयोग हो, यो विपद् व्यवस्थापनको दीर्घकालीन समाधान होइन
सञ्चार माध्यममा आएजस्तो हावाहुरीप्रभावित क्षेत्रमा पर्याप्त राहत पुगेको छैन । सुत्केरी महिला, ज्येष्ठ नागरिक र बालबालिका लक्षित राहत पु¥याउन जरुरी छ । सुत्केरी महिलाका लागि पोषिलो खाना, महिलाका लागि स्यानीटरी प्याड र भित्री वस्त्र साथै बालबालिकाका लागि पाठ्य सामग्री अति नै आवश्यक छ । पीडितको खोल ओढेर क्षति नपुगेका गाउँका व्यक्ति पनि राहत लिन आउने, पीडितका आफन्त आएर राहत लिने, कुनै परिवारले धेरै पटक लिने त कुनै परिवारले राहत पाउँदै नपाउने जस्ता अवस्था रहेको हुँदा राहत सामग्री लिएर जानेहरू स्वयंले स्थलगत अवलोकन गरी स्थानीय युवा, जनप्रतिनिधि तथा प्रहरी प्रशासनको समन्वयमा मात्र राहत वितरण गर्दा प्रभावकारी हुनेछ ।
उनीहरू दुखेका छन् । प्रमाणका लागि तस्बिर लिनुपरे संयुक्त तस्बिर वा सामग्रीको तस्बिर मात्र लिँदा राम्रो होला । राहत वितरण गरिरहेको फोटो खिच्दा पीडितको घाउ झनै बल्झिन्छ । त्यसरी कसैको पीडाको मजाक नउडाउनु होला । विपद्का बेला धमिलो पानीमा माछा मार्न खोज्नेहरूको कमी हुँदैन । यस्तो बेला आफूले दिएको राहत पीडितसम्म पुगे÷नपुगेको निश्चित गर्नु पनि हाम्रो दायित्व हो । आर्थिक तथा सामग्री दुवै सहयोग गर्नेले प्रस्ट रूपमा हिसाब बुझ्नुहोला ।
सरकारले गर्न सक्ने सहयोग गरिरहेको छ । नागरिक समाज, दातृ निकाय तथा युवा समूहहरू राहत वितरणमा सक्रिय देखिन्छन् । यस्तो बेला प्रभावित क्षेत्रमा एउटा सहायता सम्पर्क कक्ष राख्न सकियो भने कुन ठाउँमा के सामग्री अत्यावश्क छ भन्ने सुनिश्चित गरी राहत वितरण कार्यलाई अझै प्रभावकारी बनाउन सकिन्छ । यसका लागि स्थानीय पत्रकार तथा संघ संस्थाको भूमिका महŒवपूर्ण हुन आउँछ । हाम्रो सरकार पुनर्निर्माणमा सुस्त छ । भूकम्पबाट प्रभावित भएका घरहरू नै पूर्णरूपमा बनिसकेका छैनन् । हावाहुरीबाट पूर्ण र आंशिक रूपमा गरी बारा र पर्सामा करिब १९ सय घरमा क्षति पुगेको छ । वर्षाको मौसम आउँदै छ । यस्तो अवस्थामा पीडितको दुःख कम गर्न सम्बन्धित निकायले जतिसक्दो चाँडो पुनर्निर्माणको कार्यलाई प्राथमिकतामा राख्नुपर्छ ।
साउन÷भदौमा बाढी पहिरोको जोखिम पनि उत्तिकै छ । हरेक वर्ष ठूलो जनधनको क्षति भएपछि क्षतिपूर्तिको घोषणा गर्नुभन्दा विपद् जोखिम व्यवस्थापनको पूर्वाधार तयार गर्नतर्फ सम्बन्धित सबै निकायको ध्यान जानु जरुरी छ । राहत वितरण क्षणिक सहयोग हो, यो विपद् व्यवस्थापनको दीर्घकालीन समाधान होइन । विपद् जोखिम भएका ठाउँको अध्ययन गरी जोखिम नियन्त्रणका लागि आवश्यक कदम चाल्नु जरुरी छ । प्राकृतिक विपद् रोक्न त सकिँदैन तर न्यूनीकरण गर्न भने अवश्य सकिन्छ ।
(कार्की विपद् व्यवस्थापन संंकाय, स्नातकोत्तरकी विद्यार्थी हुन् ।)
(कार्की विपद् व्यवस्थापन संंकाय, स्नातकोत्तरकी विद्यार्थी हुन् ।)
CONVERSATION