HOME ARTICLES BLOG INTERVIEWS & REVIEWS STORY POEM GHAZAL MUKTAK MISCELLANEOUS LITERATURE
image1 image2 image3

सरकार ! मेरो राहदानी कहिले खोस्छौ ? (खुल्ला पत्र)

सरकार म बाँचेको मात्र छु । तिम्रो संघिय राजधानीमा भाडाको कोठामा बसेर म जागिर गर्छु । तिमीलाई मेरो जागिरकै पैसाले बर्षेनी हजारौँ कर तिर्छु । अझ यसरी भनौँ, म तिम्रो करदाता पनी हो । यो बाहेकको मेरो अरु परिचय तिम्रा लागी के आवश्यक र ?
सरकार, मलाई थाहा छ, यो पत्रले तिमीलाई छुँदैन । हरेक दिन त्रिभुवन विमास्थलबाट उडेर जाने आम नेपाली युवाको सपनाले तिमीलाई छोएन, छोराछोरी दुई छाक जुटाउनकै लागि जहाजका खुडकिलो चढ्दा चर्किने आमाको छातीको वेदनाले तिमीलाई छोएन, देशका हजारौँ जनशक्तिहरू अरुको भूगोल बनाउँदा बनाउँदै ढल्दा तिमीलाई छोएन भने यो पत्रमा कुदेका एक आम नेपाली युवाको चित्कारले तिमीलाई के छुन्थ्यो !
“छोराछोरी सबै लाखापाखा लागिहाल्यौ, एक्लै पकाएर खान जाँगरै चल्दैन ।” मैले हरेक साँझ फोन गर्दा आमाले बोल्ने अनुत्तरित वाक्य यही हुन्छ । तिमीलाई यो थाहा नहुन सक्छ की आमाको यो वाक्य देशका हरेक आमाबुबाको प्रतिनिधी वाक्य हो ।
गोविन्द दाइ विदेशमा हुनुहुन्छ । उताबाट कोही नेपाल आउँदै छन् भने आफ्नी आमालाई सोध्नुहुन्छ, “के पठाइदिऊँ ?” यता आमाका आँखा रसाउँछन् । उनी भावुक हुन्छिन् ।“केही चाहिँदैन बाबु, तँ फर्की । मैले बनाएको साग र ढिँडो तैँले मिठो मानेर खाएको हेर्न मन छ ।” भन्न त यस्तै भन्न मन छ उनलाई, तर आवाज गलामै रोकिन्छ । यसो भन्यो भने गोविन्द दाइ कमजोर हुन्छन् । ऊ फर्कियो भने उसका सपनाहरू अधुरै रहन्छन् । बाध्यता नै सही, आमाले यो कुरा राम्रोसँग बुझेकी छिन् ।
मेरी एउटी साथी राजधानी बस्छिन् । कुनै कामका लागि होइन, मात्र पढ्नका लागि । घरबाटै पठाएको खर्चले उनको उच्च शिक्षा हासिल गर्ने सपना पूरा भएको छ । उच्चशिक्षा उनको रहर हो, काठमाडाैँ बाध्यता । “आफूले पढ्न चाहेको विषय गाउँकै क्याम्पनमा पढ्न पाइने भए किन आउँथेँ र यो मान्छेले मान्छे कुल्चेर हिँड्ने काठमाडौँ ?” उनी आफू भित्रको कुन्ठा पोख्छिन् ।
“छन त घरकै खाना खाएर, बाआमाकै साथमा बसेर पढ्न मन थियो नि, तर के गर्नु सोचेजस्तो नहुने रैछ ।” आफ्नै घरमा बस्नू पनि उनको लागि सपना भएको छ । उनी हरेक बिहान मोबाइलको आल्राम सुनेर हैन, आमाको मीठो बोलीबाट ब्युँझिन चाहन्छिन् ।
छोरा ४ वर्ष पुगेपछि रिता भाउजू सहर पस्नुभयो । गाउँमा राम्रो स्कूल छैन । आफू पढ्न नपाए पनि छोरा राम्रो स्कूलमा पढोस् भन्ने चाहना छ उनको । उनको श्रीमान् विदेशमा छन् । उनी सहरमा बस्छिन् । उनका सासु ससुरा गाउँमा छन् ।
अब गाउँमा रिता भाउजूका सासु ससुरा जस्तै जेष्ठ नागरिक मात्र हुनुहुन्छ । गाउँको माटोमा कोदाली चलाउने दाइ र रोपाइ गर्ने भाउजूहरू कोही विदेश त कोही सहरतिर पलाएन छन् । सरकार, तिमी भने डोजर चलाएर समृद्धिको नारा जपिरहेका छौँ ।
देशका ४० लाख युवा बाहिर छन् । अहिले अधिकाँश युवाको गञ्तव्य विदेश बनेको छ । विदेश रहर हैन, बाध्यता हो । स्नातकोत्तर गर्नेलाइ समेत राज्यले रोजगारीको अवसर सिर्जना गर्न सकेको छैन ।
सरकाले आवेदन खोल्ने केही रोजगारीका अवसरहरू हरेक वर्ष दिक्षित हुने युवाको सङ्ख्याको एक छेउ पनि छैन । त्यसैले प्लस टु वा स्नातक सक्ने बित्तिकै युवाहरू आफ्नो दक्षता र क्षमताले भ्याउने मुलूकतर्फ हानिन्छन् । जोसिला युवाको श्रम, पसिना र बौद्धिकतालाई राहदानीमा छाप लगाएर देशमा समृद्धि आउन सक्दैन भन्ने तथ्य बुझ्न तिमीलाई अझै कति समय लाग्छ, सरकार ?
देशमै केही गर्छु भनेर बस्ने युवा पनि सहरमुखी हुन बाध्य छन् । गाउँका सरकारी विद्यालयको अवस्था नाजुक छ । नीजि विद्यालयमा पनि गुणस्तरिय शिक्षक छैनन् । पछिल्लो समय त उच्च शिक्षाका लागि मात्र हैन, विद्यालय पढ्ने उमेरका छोराछोरीको शिक्षाका लागि बाआमाले नै गाउँ छोड्ने गरेका छन् ।
कृषिबाट किसानहरू सन्तुष्ट नहुनू, गाउँमा शिक्षा, स्वास्थ्य र यातायात लगाएतका आधारभूत आवश्यकताको समेत सुविधा नहुनू र आम्दानीको बाटो नहुनू आदि गाउँ रित्तिने कारण भएका छन् । कतिपय गाउँमा त मलामी समेत पाईँदैन ।
वृद्धवृद्धालाई बाचुञ्जेल त गाह्रो छ नै, मरेपछि पनि लास उठाउने कोही हुँदैनन् की भन्ने चिन्ता छ । सरकार, तिमीलाई देशका जेष्ठ नागरिकको माया लाग्दैन ?
देश सङ्घीयतामा गएर निर्वाचन भएको पनि करिब दुई वर्ष हुन लाग्यो । यो बिचमा समृद्ध नेपाल, सुखी नेपालीको नारा खुब सुनिए । तिमी एकातिर देशमै रोजगारीको वातावरण सिर्जना गर्छु भन्छौ, अर्कोतिर युवालाई विदेश पठाउने सम्झौतामा हस्ताक्षर गर्छौ । यसरी आफ्नै छोराछोरीलाई अरुको घरमा कमारो राखेर आएको पैसाले तिमी कति दिन रमाउँछौ सरकार ?
मेरो एउटै सपना छ, आमासँगै बस्ने । जसरी म सानो छँदा मेरो सुख दुःखको सहारा आमाहुनुहुन्थ्यो, त्यसरी नै म आमाको बुढेसकालको लौरी बन्न चाहन्छु ।
मलाई रहर छ, बिहानको चिया आमासँग गफगर्दै खाने । मलाई रहर छ, करेसाबारीमा आमासँगै बसेर तरकारी लगाउने । मलाई रहर छ, आमालाई बिसन्चो हुँदा घर नजिकैको अस्पतालमा आफैँले जचाउन लैजाने । मलाई रहर छ, मेरो सिप र क्षमता अनुसारको कामगाउँघरमै बसेर गर्ने । अनि मलाई रहर छ, गाउँघरका नानीबाबुले गाउँकै सरकारी विद्यालयमा गुणस्तरिय शिक्षा पाएको हेर्ने ।
सरकार, के मेरो रहर सूर्य पश्चिमबाट उदाउनु जत्तिकै असम्भव छ ? मेरो यो सपना पूरा गर्न तिम्रो कुनै भूमिका रहन्छ कि रहँदैन ? के आफ्नो परिवारसँग बसेर सुख दुःख साट्नु पनि हाम्रो लागि सपनामात्रै हुनेभयो ? यस्ता अनेकौँ प्रश्न बोकेर अचेल प्रत्येक घरका छोराछोरी कि त विदेशी भूमीमा देश खोज्दैछन् कि त राहदानी बनाउने लाइनमा बसेर आफ्नो कर्मलाई धिक्कार्दै छन् । सरकार, तिमी भने मोनो रेल र पानीजहाजको आश्वासन बाँडेर दङ्ग परिरहेका छौ । यतीधेरै सपना बाँडनेले मेरो राहदानी खोस्न कहिले सक्छौ सरकार ?
अब गाउँ लक्षित कार्यक्रम ल्याऊ । युवाका सृजनशील उद्यममा लगानी गरिदेऊ । प्रत्येक स्थानीय निकायमा जनसङ्ख्याको घनत्व अनुसार स्वास्थ्यचौकी वा अस्पताल निर्माण गर । सरकारी अस्पताल र सरकारी विद्यालयको गुणस्तर बढाउन प्रतिस्पर्भात्मक कार्यक्रम ल्याऊ ।
सरकारी कर्मचारीका लागि प्रोत्साहनमुखी योजनाहरू बनाएर कार्यान्वयन गर । स्थानीय निकायमा प्राप्त हुन सक्ने स्रोत साधनलाई मध्ये नजर गरेर स्थानीयलाई लघु उद्यम सञ्चालनका लागि वातावरण बनाइदेऊ । बाह्य लगानीलाई सहरमा मात्रै सिमित नराखी दुर्गम क्षेत्रमा पनि उद्योग, कलकारखाना निर्माणमा जोड देऊ । स्रोतको समान बाँडफाँड गर । हामी सबैले देखेको समृद्धि यस्तै साना प्रयासहरूबाट आउने छ ।
जुन दिन म जस्ता युवाले देशमै, अझ भनौँ गाउँमै आफ्नो भविष्य देख्न सक्छन्, तब देशमा समृद्धि मुस्कुराउने छ ।
गोविन्द दाइलाई उनकी आमाले साग र ढिँडो पकाएर ख्याउन पाउन्, मेरी साथीले आफूले चाहेको विषय गाउँकै कलेज मापढ्न पाउन्, रिता भाउजूका छोराछोरी गाउँकै स्कूलमा पढ्न जाउन् अनि अस्पताल र औषधी कुनै गाउँको जनताका लागि असम्भव नबनोस् । हाम्रो सपना यति मात्रै हो सरकार ।
के हाम्रो चाहना पूरा गर्न पानीजहाज कुदाउन भन्दा पनि गाह्रो छ ?

बिनिता कार्की:

राम्रोलाई राम्रो व्यबहार र नराम्रोलाई पनि राम्रै व्यबहार गर्ने मान्छे


Let's Get Connected: Twitter | Facebook | Google Plus

CONVERSATION