HOME ARTICLES BLOG INTERVIEWS & REVIEWS STORY POEM GHAZAL MUKTAK MISCELLANEOUS LITERATURE
image1 image2 image3

जन्मदिनः एक उत्सव



माघ २१ गतेबाट परीक्षा छ । पढेको केही छैन । त्यसैले २० गतेको लागि कामबाट छुट्टि लिन्छु । १९ गते शनिबार दिनभरीजसो पढेरै बस्छु । साँझको खाना घरधनी आन्टीकोमै खान्छु । आन्टीकी छोरी छिन्, सबिना । मलाई दिदी नै मानेर माया गर्छे ऊ । कहिलेकाहीँ घर ढिला आउँदा माथिबाटै खाना ल्याइदिन्छे । अरु दुईजना भाइ बहिनी पनि छन् । माघ २० म जन्मेको दिन । यो कुराले म भन्दा बढी सबिना र भाइबहिनी उत्साहित छन् । 

म जन्मदिनमा आफ्नो विशेष रहर पूरा गर्न मन पराउँछु । यो वर्ष एक्लै सिक्किम घुम्छु भन्ने सोचमा थिएँ । स्नातकोत्तर दोस्रो वर्षको परीक्षा २१ गतेबाट हुने तालिका आएको दिन सपना तुहियो । १९ गते राति ११ः२५ सम्म पढिरहेकै हुन्छु । मन दोधार हुन्छ । सुतौँ भने १२ बजे साथीहरूको फोनले ब्यूँझाइ हाल्छ, नसुतौँ भने आँखाहरू वर्षाैपछि भेटिएका प्रेमी प्रमिका झैँ छुट्टिनै मान्दैनन् । आँखाका दुबै किनाराको मिलन गराउँछु । सिरानीमा टाउको राखेपछि मलाई केही थाहा हुँदैन । 

फोनको घण्टी बज्छ, हेर्छु, पुने अर्थात पुनमको नम्बर हुुन्छ । उठाउँछु । उसले निद्राबाट ब्यूँझिएको स्वरमा 'ह्याप्पी वर्थ डे डियर' भन्छे । जवाफमा 'दिल खुस् गर्दियौ, फस्र्ट विसर भएर' भन्छु । ऊ मख्ख पर्छे । पालैपालो फोन आउँछ, नेपु अर्थात आरती,  पूजा बहिनी अनि सुनी । सुनिसँग कुरा गर्दागर्दै ढोका ढकढक गरेको आवाज आउँछ । अनुमान लाउँछु, पक्कै सबिना हुनुपर्छ । ढोकाबाट तिनजना लस्करै मैनबत्ति बलिरहेको केक बोकेर भित्र पस्छन् । म अक्क न बक्क हुन्छु । यस्तो त फिल्ममा मात्रै देखेको छु । राति १२ बजे यसरी कसैले अचम्मित बनाएकै थिएन मलाई । ओहो, यो कस्तो खुसी? यिनीहरू यतिबेलासम्म नसुतेर मलाई सप्राइज् दिनकै लागि बसेका? उनीहरू मभन्दा धेरै खुसी देखिन्छन् । हामी केक काट्नै लाग्दा सोबिताको फोन आउँछ । भिडियो कलमा उसलाई पनि साथ राखेर म केक काट्छु । सबैजना केक खान्छौँ । केही फोटो खिच्छौँ र उनीहरू जान्छन् । मेसेजहरू आएका थिए फोनमा, १२ बजे नै मेसेज पठाएर मेरो जन्मदिनलाई विशेष बनाइदिने सबैलाई कृतज्ञता व्यक्त गर्छु, मेसेजबाटै । 

राती पनि फोन बज्छ । कतिसँग अर्धचेत भएर बोल्छु । बिहान ५ बजेबाट फोन निरन्तर बजिरहन्छ । सबैप्रति आभारी हुँदै बोल्छु । ८ बजेको पत्तै हुँदैन । फेरी कसैले ढोका ढक्ढक्याउँछ । को हो ? भनेर सोध्छु, आवाज आउँदैनँ । ढोका खोल्दा अर्को सप्राइजको लर्को भित्र पस्छन्, सोबिता र कृतज्ञ । 'कसरी पत्ता लगायौ रुम ?' मेरो पहिलो प्रश्न यही हुन्छ । भित्र पसेर सिरक पट्याउन थाल्छु, पछाडीबाट कसैले आँखा छोप्छ । 'अरे, सिरु? तिमी त दाङ पुगेकी थियौ ।' ऊ हाँस्दै भन्छे, 'हामीलाई पनि आउँछ नि सप्राइज दिन ।'
 यो सब के भइरहेछ ? एकपछि अर्को खुसी । म सपनामै छु की भनेर झुक्किन्छु । उनीहरूले घरमै बनाएको केक ल्याएका छन्, कृतज्ञको रातभरीको मिहेनत । उपहारमा कलम छ, मेरो परीक्षाको लागि लक्षित । अर्को उपहार हेरेर म शब्दबिहिन हुन पुग्छु । कति सुन्दर? कति मिहेनत? मुटु जोडिएको उपहार । किन यति धेरै माया पाएको मैले ? मैले के पुण्य गरेको छु यो मायाको लायक हुन? यति मायालु मान्छे किन जोडिए मेरो जीवनमा? यस्तो पहिल्यै कहिल्यै किन भएन मेरो जिन्दगीमा? कति हो कति प्रश्न सोध्छु आफैँलाई । जिन्दगीमा चाहिएकै यति थियो, अब पुग्यो । यो माया मबाट कहिल्यै नअलग्गियोस् । यस्तै केके सोच्छु । कुरा गर्दा गर्दैै बिहान बितेको पत्तो हुन्न । हामी खाना खाएर छुटिन्छौँ । 

ओहो, पढ्नु पो छ त । भोलि त एग्जाम हो । पढ्न सुरु गर्नु पहिले फेसबुक खोल्छु । नोटिफिकेसनको ओइरो हुन्छ । सुनिताले आफैँले गीत गाएर भिडियो बनाएकी रैछे । ऊ मेरो बच्चैदेखिको साथी हो । भिडियो हेरेर एकछिन विगतमा फर्किन्छु र भावुक हुन्छु । अरु पनि थुप्रै शुभकामनाको पोस्टहरू हुन्छन् । हेर्न नभ्याउँदै रजिला बहिनीको फोन आउँछ । ऊनी मलाई भेट्न आउँदै रैछिन् । दिउँसो रजिला, नविना र मन्जुरा आउँछन् । मलाई शुभकामना दिनकै लागि भिडभाड हुने गाडी चढेर आएका उनीहरूको अनुहार हेर्छु । कति निश्चल प्रेम पाउँछु । मलाई उनीहरूको अनुहार फक्रिन लागेको गुलाबजस्तो लाग्छ, स्वयम् काँडाबीच फुलेर पनि अरुलाई मोहित गराउँने । म त्यो अनुहारमा आफ्नो खुसीको कणहरू भेट्छु र सोच्छु, जिन्दगीले आफ्नाहरू चाहीँ दिएको हो मलाई । ओहो, उनीहरूले उपहारमा पनि गुलाब नै ल्याएका हुन्छन् अनि सँगै ल्याएका हुन्छन् मैले त्यो गुलाबलाई नियाल्दै हट लेमन खाने सुन्दर कप । मलाई त्यो माहोल विश्वकै प्रख्यात कविको सबैभन्दा सुन्दर कविता जस्तो लाग्छ, जसलाई पढेर म कहिल्यै नअघाऊँ, जुन कविता पढेर कहिल्यै नसकियोस् । 

साँझ कोठामा सुनिता र भगवति आउँछन् । हामी सँगै खाना खान्छौ र यो वर्षको जन्मदिनको अन्तिम केक काट्छौँ । सुनीले मेरोलागि आफुजस्तै कोमल कुसन ल्याएकी छे, सायद उसको अनुपस्थितिमा मेरो एक्लोपनको साथी भैदेओस् भनेर होला ।  राति फेसबुक चेक गर्छु । सुभेक्षा र शुभकामनाको लर्को देखेर चकित पर्छु । मैले फेसबुकमा जन्मदिन लुकाएकी छु । नोटिफिकेसन आउँदैन, तर यती धेरै शुभकामना कसरी ? सबै पोस्ट एक एक गरेर पढ्छु । अधिकाँश पोस्टले मलाई उत्प्रेरणाको स्रोत मानेको हुन्छ । कसैको जिन्दगीको प्रेरणा बन्न पाउनुजतिको आनन्द अरु के हुन्छ ? यतिबेला मलाई यो सब सोच्ने फुर्सद हुँदैन । मेसेजहरू पनि उत्तिकै आएका हुन्छन् । कति हेर्छु कति त अझै हेर्न भ्याएकी छैन । 

२१ गते सबैरै उठेर पढ्न थाल्छु । ११ बजे परीक्षा दिन जानु छ । परीक्षा दिएर साथीहरू भेट्छु । उनीहरूले मेरा लागी हेल्मेट उपहार किन्छन् । मलाई हेल्मेट उनीहरू जत्तिकै प्रिय लाग्छ । उनीहरू मलाई अप्ठेरो परिस्थितिमा साथ दिन्छन्, हेल्मेटले मलाई दुर्घटना भएको बखत सुरक्षा दिन्छ । हामी केही समय सँगै बिताउँछौ । केही हाँसो, केही गम्भिर, केही भविष्य र केही जिन्दगीका कुरा गर्छौँ अनि साँझको खाना सँगै खाएर छुटिन्छौँ । 

कोठामा आउने बित्तिकै सबै उपहारलाई आफ्नो सामुन्ने राखेर म यो आलेख लेख्दैछु । मलाई आफ्नो जन्मदिनको खास वास्ता लाग्दैन । गाउँमा जन्मदिन मनाउने चलन थिएन । मैले जन्मदिन मनाउने भनेको नयाँ ठाउँ घुमेर वा कुनै रहर पूरा गरेर हो । विगतका जन्मदिनहरूमा पनि केक चाहीँ काटिन्थ्यो तर जन्मदिनको राति १२ बजेदेखि भोलिपल्टसम्म निरन्तर उत्सव चलेको चाहीँ यो पहिलो पटक हो । 
मलाई भेटेर, फोन गरेर, सामाजिक सञ्जालमा पोस्ट र मेसेज पठाएर र अन्य विविध माध्यमबाट शुभकामनाको वर्षात गराउने तपाईं सम्पुर्ण प्रति हार्दिक आभार । यो जन्मदिनको कारण जिन्दगीमा धेरै मान्छे कमाएको रहेछु भन्ने थाहा पाएकी छु । जिन्दगीले थप जिम्मेवारी दिएको छ । तपाईंको शुभकामनालाई साकार बनाउन लागिपर्नु पर्नेछ । जन्मदिन जस्तो सामान्य दिनलाई एउटा उत्सव बनाइदिने तँ/तिमी/तपाईँ सबैमा हार्दिक नमन । 
यो वर्षको जन्मदिन मात्र जन्मदिन थिएन, जिन्दगीको यात्रामा उर्जा थप्ने एउटा उत्सव थियो, एउटा पर्व थियो । 




बिनिता कार्की:

राम्रोलाई राम्रो व्यबहार र नराम्रोलाई पनि राम्रै व्यबहार गर्ने मान्छे


Let's Get Connected: Twitter | Facebook | Google Plus

CONVERSATION