.......र पनि जिन्दगी रोकिएन
-बिनिता कार्की
कहिले काहीँ मृत्यू सम्झेर डर लाग्थ्यो । अहिले पनि लाग्छ । एक रात सुत्ने बेलामा अनाचक मन मस्तिष्कमा मृत्यू खेल्न थाल्यो । छट्पटि भयो, रात कहिल्यै कट्दैन कि झैँ लाग्यो । त्यो बेला हातमा घडि थिएन । मोबाइल शब्द त सुनेकै थिइनँ या भनौँ मोबाइल भन्ने केही चिज हुन्छ भन्ने थाहा थिएन । त्यो रात बिताउन साँच्चै कठिन भयो । रात छिटो कटोस् झैँ लाग्यो, तर कटेन । समय रोकिए झैँ लाग्यो तर मैले सोचको जस्तो समय अडिएन । बिहान भयो, रात रोकिएन ।
म यस्तो समाजमा हुर्केँ, जहाँ साथीसङ्गी भेट हुँदा औपचारिकता निभाउने चलन थिएन । न हामी भेट हुँदा 'हाइ' भन्थ्यौँ, न छुट्टिदाँ 'बाइ' । अहिले जस्तो अङ्कमाल गर्ने चलन पनि थिएन । यसको मतलब आत्मियता थिएन भन्ने हैन । अङ्गालोको आत्मियता बुझ्न मलाई वर्षौं लाग्यो । हरेक पटक भेट्दा र छुटिँदा जब हामी एक अर्कालाई अङ्गाल्थ्यौँ, एउटा मिठो आभाष हुन्थ्यो । त्यो आभाष मैले अरू कुनै अङ्गालोबाट पाएकी थिइनँ । त्यतिबेला उसले भन्ने गथ्र्यो, "यो समय यहीँ टक्क रोकिए पनि हुने है ?" सुन्दा फिल्मी डायलग झैँ लाग्छ, मलाई पनि त्यस्तै महशुष हुन्थ्यो । तर हामीले चाहे झैँ समय टक्क रोकिएन । हामीले फेरि कहिल्यै नभेट्ने बाचा सहित अन्तिम पटक एक अर्कालाई अङ्गाल्दा पनि समय रोकिएन । हामी फेरि कहिल्यै भेटेनौँ, जिन्दगी चलिरह्यो ।
आमासँग बोल्न मन लाग्यो भने गाउँकी दिदीको मोबाइलमा फोन गर्नु पर्थ्यो । कहिले दिदी बाहिर हुनुहुन्थ्यो, कहिले व्यस्त हुनुहुन्थ्यो । मन लागेको बेला आमासँग बोल्न नपाउँदा मन कुँडिन्थ्यो । पहिलो जागिर खाएको वर्ष दशैँमा आमाको लागि नोकियाको एघार सय मोडलको मोबाइल किनेर लगेँ । मोबाइल हेरेर आमाको अनुहारमा आएको चमक देख्दा लाग्यो, समय त्यहीँ रोकियोस् । आमाको मुहार त्यसरी खुलेको हेर्ने धोको नपुग्दै दशैँ बिदा सकियो । म फर्किएँ, समय रोकिएन, चलिरह्यो ।
यस्ता अनेकौँ घटना घटे जिन्दगीमा । कति पटक लाग्यो, समय छिटो बितोस् । कति पटक लाग्यो, समय टक्क रोकियोस् । तर न समय बत्तियो, न रोकियो । यो त केबल चलिरह्यो, जिन्दगी बनेर ।
स्कूल पढ्दा लाग्थ्यो, स्कूलका साथीहरू सबथोक हुन् । जिन्दगीभर साथमै रहन्छन् र जिन्दगी रङ्गीन भइरहनेछ । प्लस टु पढ्दा लाग्थ्यो, उनीहरू जत्तिको साथी अब कहिल्यै भेटिँदैनँ । त्यो बेला स्कूलका साथीहरू कहाँ थिए भन्ने कुराको पत्तो थिएन । त्यसपछि स्नातक पढियो । परिपक्वता बढ्दै गयो । साथीहरू थोरै थिए तर प्यारा थिए । त्यो बेला पनि लाग्थ्यो, उनीहरू नै जिन्दगी हुन् । त्यो बेला प्लस टुका साथीहरू कता थिए, खबर थिएन । अनि मास्टर्स् पढियो । सबै व्यस्त हुन्थे । जति समय बिताइन्थ्यो, बडो आत्मियताले बिताइन्थ्यो । अहिले उनीहरू पनि कुन दुनियाँमा व्यस्त छन् थाहा छैन । यी बाहेक, कार्य थलो, विविध कार्यक्रम र अन्य संयोगले धेरै साथी बने । केही समय सम्पर्कमा रहे र फेरि हराए । जिन्दगीमा भेटिने र छुटिनेहरूको कुनै लेखाजोखा राख्न सकिएन, तर पनि जिन्दगी चलिरह्यो, रोकिएन ।
आमालाई छोडेर हिँडेको १० वर्ष भयो । पहिलो पटक घर छोड्दै गर्दा लागेको थियो, आमाबिना म अधुरो हुन्छु । उहाँको मायाबिना जिन्दगी कसरी चल्ला ? म न्यास्रिएरै मर्छु की ? तर त्यसो भएन । घरको न्यास्रो पक्कै लाग्यो । आमाको यादले नसताएको त कहिले छ र ? तैपनि जिन्दगी रोकिएन, चलिरह्यो ।
मेरो एउटा बानी छ । त्यो बानी राम्रो हो या नराम्रो, म जान्दिनँ । जब कसैलाई आफ्नौ ठान्छु, मनैबाट आफ्नो ठान्छु । जब कसैलाई माया गर्छु, मनैदेखि माया गर्छु । मेरो लागि कसैलाई आफ्नो ठान्नु भनेको, उससँग सम्बन्धित सबै पक्षलाई आफ्नो ठान्नु हो । मेरो लागि कसैलाई माया गर्नु भनेको उसलाई बिना सर्त माया गर्नु हो । मेरो लागि आफ्नो हुनू भनेको रिसमा पनि आफ्नो हुनू हो र खुसीमा पनि आफ्नै हुनू हो । मेरो लागि माया गर्नु भनेको गालिमा पनि माया नै देख्नु हो । मेरो लागि आत्मियता भनेको जिन्दगीका गहन कुरादेखि व्यअर्थका कुरामा घण्टौँ सयम बिताउनु हो । मेरो लागि सम्बन्ध भनेको गहन आत्मियता सहितको सरल अभिव्यक्ति हो ।
मेरो सम्बन्धको परिभाषालाई कसैले मानिदेओस्, यो मेरो चाहना कहिल्यै भएन । मैले झैँ कसैले मलाई पनि महत्व देओस् भन्ने अपेक्षा मैले राख्नै जानिनँ । यदि कुनै पनि सम्बन्धमा म केही चाहन्थेँ भने त्यो सम्बन्ध मनको होस् भन्ने चाहन्छु । त्यो सम्बन्ध एकोहोरो घिच्याइ नभइ दोहोरो यात्रा होस् भन्ने चाहन्छु । एउटा रिसाउँदा अर्कोले हाँसेर उडाओस्, एउटाले गालि गर्दा अर्कोले गालिलाई मजाक बनाओस् । एउटाको बारेमा कसैले नराम्रो बोल्दा अर्कोले प्रतिकार गरोस् । एउटालाई कमजोर महशुष हुँदा अर्कोले उर्जा थपिदेओस् । आफैँलाई विश्वास नभएका कुरामा विश्वास गरोस् । एउटाको सपनामा अर्कोले उडान भरोस् । त्यो सम्बन्ध चाहे रगतको होस्, प्रेम, मित्रता या जे सुुकै होस्, त्यो एकोहोरो चाहिँ नहोस् ।
बस्, यति नै अपेक्षाले कतिसँग नजिक भइयो । कतिलाई आफ्ना हुन् भनियो, कतिको आफ्नो बनियो । कतिपटक हृदय चर्कियो । कतिपटक हृदय फुर्कियो । कति पटक बिछोडमा रोइयो । कति पटक मिलनमा रमाइयो । कति पटक मरूँ झैँ लाग्यो । कति पटक अमर रहूँ झैँ भयो । कति पटक सास रोकिएला झैँ भयो, तर रोकिएन, चलिरह्यो ।
यो सबै कुराबाट मैले यही बुझेको छु कि जिन्दगीको ढोका सधैँ खुला राखिदिनु पर्छ, आउनेहरूका लागि पनि र जानेहरूका लागि पनि ।
मेरा अनुभवहरूबाट मैले यत्ति सिकेको छु कि जे सुकै होस्, जिन्दगी रोकिँदैन, चलिरहन्छ ।
मेरा अनुभवहरूबाट मैले यत्ति सिकेको छु कि जे सुकै होस्, जिन्दगी रोकिँदैन, चलिरहन्छ ।